• ७ जेठ २०८१, सोमबार

ओखलढुङ्गा एमालेले टुङ्ग्यायो उम्मेदवार

blog

शेरबहादु राई
ओखलढुङ्गा, वैशाख ११ गते ।
नेकपा एमालेले ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावालीमध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो ।

सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छा कुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाउनुभएको छ । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ, उपाध्यक्षमा अम्मता राई र चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्कीको नाम टुंगो लागेको हो ।

यसैगरी, चम्पादेवीको उपाध्यक्षमा सविला खतिवडालाई उम्मेदवार बनाउने वा अरु कसैलाई उठाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ‘क’ ईन्चार्ज अम्बिरबाबु गुरुङले बताउनुभयो ।

त्यस्तै, मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा ईन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापा र चिशंखुगढी गाउँपालिका अध्यक्ष अशोक थापा र उपाध्यक्ष सुस्मिका राईलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेकोईन्चार्ज गुरुङले जानकारी दिनुभयो ।

यस्तै, एमालेले सिद्धिचरण नगरपालिका र सात वटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित  ७५ वटै वडाका वडा अध्यक्षसहित सदस्यहरुको नाम टुङ्गो लागि सकेको नेकपा एमाले ओखलढुङ्गाका सचिव कमल प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यसैबीच नेपाली काँग्रेस ओखलढुङ्गाको पनि उम्मेदवार छनौटको काम अन्तिम चरणमा पुगेको नेपाली काँग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले बताउनुभयो । अधिकांश पालिकाहरुको उम्मेदवारको टुङ्गो लागि सकेको र केहीमा बाँकी रहेकाले चाडै टुङ्गो लाग्ने खतिवडाको भनाई छ । नेकपा एकिकृत, जसपा लगायत अन्य दलहरुले भने उम्मेदवारी छनौटको काम करिब अन्तिम चरणमा पु¥याएका छन् ।