• १२ साउन २०८१, शनिबार

राजमार्गमा काफल बेच्न तँछाडमछाड

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ ८ गते । सुदूरपश्चिमको पहाडी जिल्लालाई तराई जोड्ने सडकमार्गमा काफल बेच्न महिलाले तँछाडमछाड गर्ने गरेका छन् । यति बेला जङ्गलमा प्रशस्त काफल पाइने भएकाले बेचेर स्थानीय महिलाले राम्रो आम्दानी गर्दै आएका छन् । 

डडेलधुरा राजमार्ग छेउछाउमा कापल बिक्री गर्ने महिला बिहानैदेखि साँझपखसम्म बसेको देख्न सकिन्छ । एउटा चिया गिलासमा काफल भरेर २५ रुपियाँसम्ममा बिक्री गर्दै आएका महिला बस/गाडी रोकिनेबित्तिकै तँछाडमछाड तथा भागदौड गर्ने गरेको देखिन्छ । सडक छेउ छेउमा प्रायः महिलाले एक किलोग्रामको दुई सय रुपियाँसम्ममा काफल बेच्दै आएको बताएका छन् । किलोका हिसाबले तौल नगरे पनि अनुमानका आधारमा छाप्रो, परादलगायत भाँडामा काफल राखेर ८० रुपियाँदेखि एक सय रुपियाँसम्ममा बिक्री गरेका स्थानीय हरुदेवी साउदले बताउनुभयो ।

बिहानै काफल टिपेर दिउँसोतिर सडक छेउछाउमा बसेर बिक्री गर्छन् । रोटी राख्ने निगालोबाट बनेको एक छाप्रो पूरैको काफल आठ सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । काफल बेचेर दुई तीन महिनाको घरखर्च टर्ने गरेको स्थानीय महिला बताउँछन् ।

काफल टिपेर बेच्न सक्ने महिलाले एक दिनमा चार हजार रुपियाँसम्म कमाउने गरेका छन् । स्थानीय पार्वती भण्डारीले जसको घरमा धेरै जना काफल टिप्ने मान्छे छन् अनि जसले गाडीमा भागदौड गरी अगाडि काफल पु¥याउन सक्यो उसले एक दिनमा चार हजार रुपियाँसम्म कमाउने गरेको बताउनुहुन्छ । 

डडेलधुरा जिल्ला सदरमुकामको स्याउले बजारमा काफल बेच्न महिला गाडी रोकिँदा भागदौड गरेको देख्न सकिन्छ । अमरगढी नगरपालिका–१, स्याउले बजारनजिक ट्राफिक प्रहरी पोस्ट रहेको छ । गाडी इन्ट्री गर्न ट्राफिक प्रहरी पोस्टनजिक गाडी रोक्नुपर्ने हुन्छ । गाडी रोकिँदा काफल बेच्न महिला तँछाडमछाड गर्दै भागदौड गर्ने गरेको वडाध्यक्ष लोकबहादुर ऐरले बताउनुभयो । 

“कोही भने गुडिरहेको गाडीमै चढेर काफल बेच्ने गर्छन्,” यसले दुर्घटना निम्त्याउन सक्छ उहाँले भन्नुभयो । कोही झ्यालबाट यात्रुलाई बाहिरबाटै पोलिथिनमा हालेर बेच्ने गरेका छन् । उहाँले भन्नुभयो, “दुर्घटनाको जोखिम हुन्छ भनेर बारम्बार सम्झाउँदासमेत मान्दैनन् ।” स्थानीय उत्पादन आरुबखडा, पुलम, सुन्तला, मौसमी, ओखर, मुलालगायत राजमार्गमा गुड्ने गाडीका यात्रुलाई बेच्ने गरेको उहाँको भनाइ छ । ट्राफिक प्रहरी पोस्ट स्याउलेका ट्राफिक हवलदार गणेश सेठीले भन्नुभयो, “गाडीचालकले छेउमा गाडी रोक्छौँ अनि बिक्री गर्नुहोला भन्दा पनि तँछाडमछाड रोक्न सकिँदैन ।”