• २३ मंसिर २०८१, आइतबार

समस्याग्रस्त बाघ व्यवस्थापनमा समस्या

blog

नारायणगढ, जेठ ८ गते । चितवनको सौराहानजिकै थुनेर राखेको बाघ आइतबार साँझ मरेको छ । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शनिबारदेखि एक्कासि बिरामी परेको पोथी बाघ आइतबार राति मरेको हो । 

बाघले निकुञ्जकै पूर्वी क्षेत्रमा पर्ने लोथरनजिकै काँसघारीमा दुई जना मानिसको ज्यान लिएपछि २०८० मङ्सिर १० गतेदेखि थुनामा राखिएको थियो । 

उता पर्सा राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भई खोरमा थुनेर राखेका तीन वटा बाघ पनि मरेका छन् । २०८० असोज २५ देखि चैत १६ गतेसम्म तीन वटा बाघ खोरमै मरेका थिए । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतका अनुसार २०८० फागुन १४ गते मरेको बाघ झन्डै एक वर्ष खोरमा राखेर पालिएको थियो । २०७९ चैत २२ गते ठोरी सुवर्णपुरबाट नियन्त्रणमा लिई सो बाघलाई खोरमा थुनेर राखिएको थियो । नेपालमा सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको सङ्ख्या 

दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सोही प्रतिबद्धता अनुसार सन् २०२२ मा आइपुग्दा नेपालले बाघको सङ्ख्या ३५५ पुर्‍यायो । सन् २०१० मा नेपालमा बाघको सङ्ख्या १२१ थियो । बाघको सङ्ख्या वृद्धि भएसँगै पछिल्लो समय समस्याग्रस्त बाघको सङ्ख्या पनि बढेर गएको छ, जसलाई व्यवस्थापन गर्न नसक्दा यसको मृत्यु हुने गरेको बताइन्छ । 

बुढो भएर, घाइते भएर आहारा गर्न नसकेपछि मानव बस्तीमा आएर दुःख दिने, मानिस तथा जनावरलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले निकुञ्जमा ५ प्रतिशतसम्म समस्याग्रस्त बाघ हुने बताउनुहुन्छ । 

यसरी समस्याग्रस्त बनेका बाघलाई नियन्त्रणमा लिई थुन्दा आनीबानी र आहार नमिली चाँडै मर्न थालेका हुन् । पर्सा र चितवनमा पछिल्लो समय मरेका चार वटा बाघको उदाहरणले पनि बाघ थुनेर राख्न सकिँदैन भन्ने देखाउँछ । यो संरक्षणका दृष्टिले पनि चुनौतीपूर्ण भएको बताइन्छ । वन्यजन्तुविज्ञ डा. बाबुराम लामिछाने थुनेका बाघ प्रकृतिमा जस्तै खुला रूपमा विचरण गर्न र सिकार गर्न नपाउने भएपछि त्यो निसास्सिएर मर्ने गरेको दाबी गर्नुहुन्छ । “हामीले समस्याग्रस्त बाघलाई राख्न सुविधा सम्पन्न केज (खोर) बनाउनै सकेका छैनौँ । 

जङ्गलमा खुला हिँडेका बाघ नियन्त्रणमा लिई बन्दी बनाई राख्दा तनावमा हुने र त्यो अन्ततः मर्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो । उहाँले सन् २००७ देखि २०१६ सम्म चितवन राष्ट्रिय निकुञ्जका समस्याग्रस्त बाघको अध्ययन अनुसन्धान गर्नुभएका डा. लामिछाने बुढो वा अशक्त र घाइते भएर समस्याग्रस्त भएका बाघलाई उद्धार गरी उपचारपछि प्रकृतिमा पुनः छाड्न नसकिने बताउनुहुन्छ । 

“सजिलै सिकार गर्न सकिने मान्छे र घर पालुवा जनावर खान पल्केको बाघ फेरि जङ्गलमा फर्किएर मृगजन्य जनावर आहारा गर्न सक्दैन भन्ने हाम्रो अध्ययन रिपोर्ट हो,” उहाँले भन्नुभयो, “समस्याग्रस्त बाघ थुनेर राख्दा पनि समस्या छ । छाड्दा पनि समस्या छ ।” अहिलेको सबैभन्दा बढी जटिल समस्या त थुन्ने खोर साँघुरो र सरसफाइ नहुनु पनि प्रमुख कारण रहेको उहाँको भनाइ छ । 

भारतमा समस्याग्रस्त बाघलाई गोली हानेर नै मार्ने गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना शाखा प्रमुख हरिभद्र आचार्य समस्याग्रस्त बाघ आफैँ स्वस्थ नहुने तर्क गर्नुहुन्छ । 

“जङ्गलमा निस्फिक्री विचरण गर्ने बाघ थुनेपछि के होला,” उहाँले भन्नुभयो, “कि त चिडियाखानामा जस्तै बाघ विचरण गर्न सकिने गरी खुला क्षेत्रसहितका खोर बनाउनु पर्‍यो । होइन भने साना खोरमा बन्धक बनाएर बाघ राख्नु भनेको यसरी नै कुनै न कुनै रूपमा मरोस् भन्नु हो ।”  सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन् । चितवन, बर्दिया र चिडियाघरमा गरी अहिले १४ वटा बाघ थुनेर पालिएका छन् ।