• ३० चैत २०८२, सोमबार

हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयमा तालाबन्दी

blog

धर्नामा बसेका स्थानीय । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत ३० गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालय सार्ने निर्णयको विरोधमा सोमबार स्थानीयले तालाबन्दी गर्नुभएको छ ।

शुक्रबार सम्पन्न विशेष नगरसभाले हाल वडा नम्बर १२ मा सञ्चालनमा रहेको नगर कार्यपालिकाको कार्यालयलाई अस्थायी रूपमा वडा नम्बर ५ स्थित पशु अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरेको विरोधमा स्थानीयले तालाबन्दी गर्नुभएको हो ।

नगर सभामा वर्षाका कारण भवनमा पानी प्रवेश भई महत्त्व पूर्ण कागजात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने जोखिम बढेको र दैनिक सेवा प्रवाहमा समेत अवरोध सिर्जना भएको निष्कर्ष निकाल्दै वडा नम्बर ५ स्थित नवनिर्मित पशु कार्यालय भवनमा सार्ने निर्णय भएको थियो ।

त्यसको विरुद्ध स्थानीय बिहानै देखि कार्यालयको मूल गेटमा केहीबेर धर्नामा बसेपछि हनुमाननगर बजार समेत बन्द गराउनुभएको छ ।

नगरपालिका छुट्टै भवन निर्माण गरी कार्यालय सारिए कुनै आपत्ति नहुने भन्दै अहिले नवनिर्मित पशु अस्पतालबाट पशुसेवा नै सञ्चालन गर्न स्थानीय चन्दन साहले माग गर्नुभयो ।

यस्तै वडा नम्बर २ का वडाध्यक्ष सन्तोष कुमार यादवले किसानलाई सेवा दिन पशु अस्पताल निर्माण  गरिएकोले त्यहाँबाट सोही सेवा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।