अर्जुन काफ्ले
स्याङ्जा, चैत ३० गते । अन्तराष्ट्रिय आरोग्य दिवसको अवसरमा आँधीखोला गाउँपलिका-५, जुग्लेमा साताव्यापी योग, ध्यान र सकारात्मक चिन्तन सहित ऊर्जा ध्यान शिविर तथा प्रशिक्षण गरिएको छ ।
अहिलेको महँगो जीवनशैली, बढ्दो प्रतिस्पर्धा, सामाजिक-आर्थिक दबाब तथा विभिन्न तनावका साथै स्वास्थ्यसम्बन्धी अन्य विविध समस्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा त्यसलाई कमी गर्ने उद्देश्यले यहाँ शिविर आयोजना गरिएको हो ।
आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले मानिसको जीवनशैली, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, र पारिस्थितिक कल्याणलाई आपसमा साटासाट गर्दै निरोगी जीवन र समाज बनाउन यस किसिमको कार्यक्रमले छुट्टै सन्देश दिन सफल भएको बताउनुभयो ।
एकीकृत सेवा कार्यालय स्याङजाका प्रमुख जीवन पौडेलले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्धन गर्दै नेपालको अपार जैविक विविधता, यहाँका अमूल्य जडीबुटी, अतुलनीय प्राकृतिक सम्पदालाई आरोग्य दिवसले एकसाथ विश्वमाझ विचरण गराउने क्षमता राख्ने भएकाले भाबी पुस्ताकै लागि अनुपम उपहार साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
यस दिवसले आरोग्य र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा मार्फत वैदेशिक अर्थ आर्जनको माध्यम बनेर सघाउने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक रेशम पौडेलले आरोग्यले मानिसमा आत्मविश्वास, उत्साहसङ्गै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न यस किसिमको कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।कार्यक्रमको मुख्य प्रशिक्षक जीवन विज्ञान परिषद् स्याङ्जा संयोजक राधा अर्यालले योग, ध्यान र सकारात्मक चिन्तन प्राचीन तथा वैज्ञानिक रूपमा प्रमाणित विधिहरू भएको बताउँदै जसले शरीर र मन दुवैलाई सन्तुलित राख्न सहयोग पुर्याउने, शरीरमा ऊर्जा वृद्धि गर्ने, साथै व्यक्तिको सोचाइ, व्यवहार र जीवनप्रतिको दृष्टिकोणमा सुधार ल्याई मानसिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
एक सय जनाको सहभागिता रहेको र एक हप्ता सम्म चलेको कार्यक्रममा जीवन विज्ञान परिषद् स्याङ्जा संयोजक राधा अर्याल, दुर्गा बानियाँ, योग साधक पूर्णराज श्रेष्ठ लगायतको टिमले योग ध्यान, सकारात्मक चिन्तन लगायतको विषयमा सहजीकरण गर्नु भएको थियो ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । यस वर्ष वैशाख २ गते “हिमालको चेतना, विश्वको आरोग्य” नारा सहित विभिन्न कार्यक्रमको साथ यस दिवस मनाइँदै छ ।