नारायणगढ, माघ २५ गते । पर्यटकीय नगरी सौराहा क्षेत्रका ढोईको प्रजननमा सहयोग पुर्याइरहेको जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा निस्किएका बेला निकुञ्जतर्फ धपाउने क्रममा सुरक्षार्थ खटिएका निकुञ्ज सुरक्षाकर्मीको गोली लागेर मकुनाको मृत्यु भएको हो ।
मत्ताको अभावमा सौराहामा रहेका ढोईको प्रजननका लागि मकुना जस्ता जङ्गली हात्तीको भर पर्नुपर्ने बाध्यता छ । मकुनाको बुधबार दिउँसो मृत्यु भएपछि यसले हात्तीको प्रजननमा समेत असर पर्ने देखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले केही समययता मानव बस्तीवरपर निस्किएर दुःख दिइरहेको मकुनालाई जङ्गलतर्फ लैजाने क्रममा दुर्घटना भएको बताउनुभयो ।
“सौराहा क्षेत्रमा देखिरहन्थ्यो । यो हात्तीको सहवासकै लागि आउने हो । यो पटक पनि बाहिर आएपछि जङ्गलमा पठाउन लाग्दा एक्कासि निकुञ्ज सुरक्षाकर्मी चढेको हात्तीलाई नै आक्रमण गरेको र त्यहाँ रहेका सुरक्षाकर्मी नै असुरक्षित अवस्था भएपछि आत्मरक्षाका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर मकुनाको मृत्यु भएको हो,” प्रमुख संरक्षण अधिकृत डा. पन्तले भन्नुभयो । उहाँले मकुना जस्ता जङ्गली हात्तीकै कारण घरपालुवा हात्तीको प्रजननमा सहयोग पुगेको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्जको हात्ती गस्ती टोलीलाई मकुनाले आक्रमणको प्रयास गरेको थियो । त्यसपछि दुई राउन्ड हवाई फायर गरिएको र त्यसबाट पनि हात्ती नभागेर दोस्रो हात्ती खगेन्द्रप्रसादलाई आक्रमण गरेको निकुञ्जले जनाएको छ । सो अवसरमा रेन्जर श्याम तामाङ हात्तीबाट भुइँमा खसेपछि आत्मरक्षाका लागि निकुञ्ज सुरक्षाकर्मीले बाध्यताले गोली चलाउनु परेको प्रमुख संरक्षण अधिकृत पन्तले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा आत्मरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएमा निकुञ्ज सुरक्षाकर्मीलाई गोली चलाउन पाउने अधिकार उल्लेख गरेको छ । मानव बस्तीमा निस्किएर केही भौतिक संरचनामा क्षति गरे पनि यो हात्तीले अहिलेसम्म मानवीय क्षति भने गरेको थिएन । गत वर्षको मङ्सिरमा पहिलो पटक चितवनमा देखिएको मकुना यो वर्ष भने गत असोजबाट देखिएको हो ।
घरपालुवा ढोईसँग सहवासका लागि आउने क्रममा मकुना मानव बस्तीमा आएको हो । सहवासका बेला मत्ता आक्रामक हुने गर्दछ । सौराहा क्षेत्रमा अहिले मकुना जस्ता चार वटा जङ्गली हात्ती ढोईसँग सहवासका लागि आउने गर्दछन् । नेपाल प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल मकुनाकै कारण सौराहा क्षेत्रमा मात्रै पाँच वटा हात्ती अहिले गर्भवती अवस्थामा छन् ।
“मकुनासँगै चितवनमा अन्य जङ्गली हात्तीले पनि ढोईसँग सहवास गरिरहेका छन् । मकुनाले रतिराग गरेका पाँच वटा हात्ती गर्भवती हुनु पर्छ,” उहाँले भन्नुभयो । हात्ती प्रजनन केन्द्रसहित चितवन राष्ट्रिय निकुञ्जमा ५३ वटा र निजी क्षेत्रमा ४५ वटा गरी सौराहा क्षेत्रमा मात्रै ९८ हात्ती छन् । यिनीहरूमध्ये अधिकांश पोथी हात्ती हुन् । यी पोथी हात्तीलाई प्रजनन गराउन जङ्गलीकै भर पर्नुपर्ने बाध्यता छ । हात्ती प्रजनन केन्द्र सोरसोर सौराहाका प्रमुख मनिपुरन चौधरी मकुना प्रजनन केन्द्रमा नियमित आइरहने जङ्गली हात्ती भएको बताउनुहुन्छ ।
“प्रजनन केन्द्रमा रहेका यति नै हात्ती मकुनासँगको सहवासमा गर्भवती भए भन्न त सकिने अवस्था छैन तर पनि यो नियमित आइरहने हात्ती हो,” उहाँले भन्नुभयो । प्रजनन केन्द्रमा मकुनाका अलवा रोनाल्डो, ध्रुवे, नानापाटेकर, गोविन्देलगायतका जङ्गली हात्ती पनि नियमित आउने गर्छन् । यसरी घरपालुवा हात्तीको सहवासका लागि आउने क्रममा रोमियो नामको जङ्गली हात्ती २०६६ सालमा प्रजनन केन्द्रको विद्युतीय धरापमा परेर मरेको तथ्य पनि प्रजनन केन्द्रसँग छ । सहवासका लागि केन्द्रमा आउने जङ्गली हात्तीलाई प्रजनन केन्द्रका कर्मचारी ‘ज्वाइँराजा’ का नामले चिन्दछन् ।
केन्द्रका प्रमुख चौधरीका अनुसार हात्ती प्रजनन केन्द्रमा २०५४ साल यता ६५ वटा हात्तीका बच्चा जन्मिएका छन् । यसरी जन्मने सबै जसो जङ्गली हात्तीकै सहवासबाट जन्मिएका हुन् । २०५७ सालमा जङ्गली हात्तीको आक्रमणमा प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद हात्ती मरेपछि प्रजनन केन्द्रमा भाले हात्ती हटाइएको हो । यसपछि ऐरावतगज र शेरप्रसादलाई पनि जङ्गलीले आक्रमण गरेर मारिदिएको प्रजनन केन्द्रले जनाएको छ । २०४२ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालबाट सन्तान जन्माउन थालिएको हो ।
सौराहाका होटेल व्यवसायी तथा संरक्षणकर्मी सुमन घिमिरे प्रजननमा सहयोग पुर्याइरहेको हात्ती मार्नु समस्याको समाधान नभएको तर्क गर्नुहुन्छ । “गम्भीर भएर सोच्न जरुरी छ । निजी हात्तीकै कारण जङ्गली बाहिर आउने अवस्था भएको हो भने निजी हात्तीलाई पनि जङ्गलमै राख्ने व्यवस्था मिलाऊँ । यदि जङ्गलभित्र उसको आहारा नभएकै कारण बाहिर निस्किएको हो भने उतै खानाको व्यवस्था मिलाऊँ,” उहाँले भन्नुभयो ।