• १२ साउन २०८१, शनिबार

शालिग्रामको दोहन रोक्न शिलामै भगवानको नामाङ्कन

blog

गणेश पौडेल

पर्वत, जेठ ६ गते । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदीका शिलाको नामाङ्कन सुरु गरिएको छ । आइतबार मोहिनी एकादशीको अवसर पारेर शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । 

"स्थानीय तहहरूले पवित्र नदी कालिगण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो," अभियानकर्मी यज्ञबहादुर थापाले भन्नुभयो, "स्थानीय तहका साथै समन्वय समिति र प्रदेशले समेत यसको संरक्षण नगरेपछि नागरिक स्तरबाट अभियान चलाइएको हो ।"

अभियानका लागि गाउँ गाउँबाट विभिन्न घाटका भजन कीर्तनसहित हिन्दु धर्मावलम्बीहरू भेला भएर शिलाहरूमा भगवानको नाम लेखेका थिए । प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको मालढुङ्गासम्म र कुस्मा नगर समितिले धार्मिक एवम् पर्यटकीय स्थल मोदीबेणी धामसम्म रहेका सबैखाले शालिग्राम शिलामा भगवानको नाम लेखेका जलजला गाउँपालिका सचिव हरेमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले कालिगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्न समितिले अभियान थालेको बताउनुभयो । 

हिन्दुहरूका साथै बौद्ध धर्मका धर्मावलम्बीले कालिगण्डकीलाई भगवानको रूपमा पूजा गर्ने र यहाँका हरेक ढुङ्गालाई शिला भगवानको रूपमा पूजा गर्ने भएकाले यसलाई बचाउन सकेमा धर्मावलम्बीहरूको आस्थाको केन्द्र बन्न सक्ने बताउनुभयो । यहाँका साना, ठुला, चक्राङ्कित र निष्चक्राङ्कित सबै शिलाको संरक्षणका लागि यो अभियान थालिएको र नामकरणपछि चोरी, निकासी वा उत्खनन गरेमा पनि खोजी गर्न सहज हुने उहाँको भनाइ छ । कालिगण्डकी नदी धार्मिक नदी भएकाले उत्खनन नगर्न नगराउन सर्वोच्च अदालतले समेत अन्तरिम आदेश दिएकाले स्थानीय तहहरूले राजस्व उठाएका छैनन् । तर अवैध रूपमा कालीगण्डकीको दैनिक दोहन भने भइरहेको उहाँको भनाइ छ। 

बहुमूल्य र धार्मिकरुपमा महत्त्वपूर्ण मानिने शालिग्राम शिला ढुङ्गा, गिट्टी र चोकरको रूपमा प्रयोग भइरहेको हुँदा दोहन तत्काल रोक्नुपर्ने अभियानका संयोजक थापाले बताउनुभयो। हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालिगण्डकीलाई पवित्र नदी मानिन्छ । त्यसमा पनि नदी किनारमा ऋषिहरू पुलह, पुलत्स्य, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको पण्डित लोकनाथ आचार्यको भनाइ छ ।

कालिगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन र दैनिक घरमा पूजन गर्दा राम्रो हुने विश्वास गरिएको छ । शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पुज्ने गर्दछन् । हरेक घरमा पाँचवटा शालिग्राम शिला राखेमा उक्त घर पवित्र मानिन्छ । हिन्दुहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भएर आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । यो नदीबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि स्वदेशमा मात्रै होइन विदेशमा समेत शिला लैजाने क्रम बढ्दै गएको छ ।