• १२ मंसिर २०८१, बुधबार

महिलालाई उद्यमसँग जोड्न दुनाटपरी उद्योग

blog

गढवा गाउँपालिका–१, जुरौनीमा महिलाले सञ्चालनमा ल्याएको दुनाटपरी उद्योगमा काम गर्दै स्थानीय महिला ।

दिवाकर पोख्रेल

देउखुरी, जेठ ६ गते । दाङको गढवा गाउँपालिका–१ की सुषमा केसी दुनाटपरी उत्पादनमा व्यस्त हुनुहुन्छ । कुनै समय भान्साको काम सकाएर दिउँसो फुर्सदमा बस्ने सुषमालाई अहिले भने फुर्सद छैन । उहाँ जस्तै सोही ठाउँकी सन्ध्या केसी पनि दुनाटपरी उत्पादनमा लागेपछि समय बचत भएको महसुस गर्नुभएको छ । 

दाङको गढवा गाउँपालिकाले जुरौनी गाउँका २० जना महिला दिदीबहिनीलाई तालिम दिएर गाउँमै दुनाटपरी उत्पादन गर्न लगाएपछि यहाँका स्थानीय महिला दुनाटपरी उत्पादनमा लागेका हुन् ।

स्थानीय महिला मिलेर गाउँमै दुनाटपरी उद्योगसमेत सञ्चालनमा ल्याएका छन् । गाउँमै दुनाटपरी उद्योग सञ्चालनमा आएपछि महिला पनि काममै व्यस्त हुन थालेका छन् । सुषमाले फुर्सदको समयलाई दुनाटपरी उत्पादनमा लगाएपछि आफूलाई पनि आनन्द आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनभरि मोबाइल चलाएर समय बिताउँथ्यौँ, अहिले त उत्पादनमा लागेका छौँ । हाम्रो उत्पादन देखेर ग्राहकहरू उद्योगमै आएर दुनाटपरी लग्न थालेका छन् ।”

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको दुनाटपरी उद्योगमा काम गर्दा जुरौनीका महिला दिदीबहिनी निकै उत्साहितसमेत बनेका छन् । सालको पातलाई सोत्तर, मलका रूपमा प्रयोग गर्ने महिला दिदीबहिनी अहिले त्यही सालको पातलाई दुनाटपरी बनाउने काममा लागेको जुरौनीकी फुर्की कुमाल बताउनुहुन्छ । 

गढवा गाउँपालिकाको लघुउद्यम शाखामार्फत यस आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अन्तर्गत गढवा गाउँपालिका–१ लाई कार्यक्षेत्र बनाई जुरौनीका महिलालाई उद्योगसँग जोडिएको हो । गढवा गाउँपालिका उद्यम विकास सहजकर्ता मीना चौधरीले महिलालाई दुनाटपरी उत्पादनको तालिम दिएर उत्पादनतर्फ लगाइएको जानकारी दिनुभयो ।