• १२ मंसिर २०८१, बुधबार

प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन

blog

तिलौराकोटस्थित मौर्याकालीन पोखरीको उत्खनन । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा(कपिलवस्तु), जेठ ५ गते । 
राजा शुद्धोदनको राज दरबार एवम् गौतम बुद्धले जीवनको २९ वर्ष बिताएको ठाउँ कपिलवस्तुको प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ । युनेस्को जापनिज फण्ड्स इन ट्रष्टको आर्थिक सहयोगमा सन् २०१४ मा नेपाल सरकार पुरातत्त्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भूभौतिक सर्वेक्षण गरी पहिचान गरेको हो ।

सर्वेक्षणबाट जमिन भित्र अलिकति धस्सिएको ३० बाई ३० मिटर क्षेत्रफलको एउटा संरचना फेला परेको थियो । भूभौतिक सर्वेक्षणले यसको वरिपरि चौडा बहिरी पर्खाल भएको र मध्यभागमा खाली रहेको तथा उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनहरू जस्तै भएको सङ्केत गरेको थियो । उत्खननबाट नगरभित्र इट्टाको गारो लगाइएको ठुलो पोखरी भेटिएको हो ।

पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीका अनुसार सन् २०१५ मा त्यस क्षेत्रको उत्खनन गर्दा जोगिएको २६ तहको इट्टा भेटिएको र त्यो इट्टाका तहहरू क्रम मिलाएर राखिएको बताउनुभयो । सो क्षेत्रमा निर्माण गरिएको पोखरीका इट्टाहरू कुनै ४५ सेन्टिमिटर लम्बाइ भएको भेटिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भेटिएको संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा उक्त पोखरी मौर्यकालीन (ईशापूर्व तेस्रोदेखि दोस्रो शताब्दी) समयमा बनेको भनी पत्ता लागेको थियो ।’’ पोखरीको बृहत् अध्ययन अनुसन्धानका लागि पुरातत्त्व विभागले विगत वर्षदेखि उत्खनन गरिरहेको प्रमुख पुरातत्त्व अधिकृत ज्ञवालीले बताउनुभयो । 

उहाँले गत वर्ष विभागले पोखरी दक्षिण पर्खालको पहिचान गर्नका लागि उत्खनन गरिएको उहाँले बताउनुभयो ।  उहाँले यस वर्ष पश्चिमतिरको पर्खाल उत्खनन गर्ने उद्देश्य रहेको बताउनुभयो ।  विगतको वर्षहरूमा पोखरीको उत्खनन गर्दा २६ तहको इट्टा भेटिएको थियो ।

गत वर्ष दक्षिणतर्फ गरिएको उत्खननबाट माैर्यकालमा बनेको पोखरी कुषाणकालमा जीर्णोद्धार भएको पाइएको अधिकृत ज्ञवालीको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘‘गत वर्ष विभिन्न समयमा बनेको, २६ तहभन्दा बढी तहहरू पहिचान भएको थियो ।’’

विगत वर्षहरूमा पोखरीको उत्खनन गर्ने क्रममा मौर्यकालमा बनेको पोखरीको भग्नावशेष, कुषाणकालिन सिक्का, पाञ्चमार्कका सिक्का, माटोबाट बनेको जनावरका आकृति, मानवका आकृतिहरू फेला परेको थियो । विगतका वर्षहरूमा तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, दरबारको पूर्वी गेट बाहिर, कन्थक स्तूप, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउँमा उत्खनन गरिएको थियो ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।