जानु पाण्डे
कपिलवस्तु, जेठ ५ गते । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटलमा छड्के अनुगमन गरिएको छ । बसमा सवार यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना–खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरीसहितको संयुक्त टोलीले होटलका अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने होटेललाई जरिवाना गरिएको थियो ।
बासी सडेगलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक पाँच हजारका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनुभयो ।
अनुगमनका क्रममा सामान्य त्रुटि भएका होटललाई सुझाव दिएर त्रुटि सच्चाउन आग्रह गरिएको खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तुका प्रमुख शङ्कर दाहालले बताउनुभयो । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटलमा उपभोक्ताको धेरै गुनासो आउने भएकाले छड्के अनुगमन गरिएको हो ।