• १० मंसिर २०८१, सोमबार

मृत्यु ऐन (कथा)

blog

मृत्यु ऐन श्रुति परम्परामा आधरित ऐन हो । यो लामो समयदेखि हिमवत्खण्डमा चलिआएको छ । समाजमा धेरै कानुन संहिताकरण भएसँगै यो महत्वपूर्ण कानुन पनि संहिताबद्ध गर्न थालनी गरिएको हो । भोलिको समाजले मृत्यु ऐनको लेख्य प्रमाण खोज्दा सहज र सरल रूपमा उपलब्ध होस् भन्ने लोकको चाहना अनुसार मृत्यु ऐन दस्ताबेजीकरण गरिएको हो ।

बाजेले भने अनुसार परापूर्वकालमा सम्पूर्ण समाज एकदम सुव्यवस्थित थियो । त्यो समयलाई रामराज्य, आदिम साम्यवाद र वैदिक साम्यवादका रूपमा चिनिन्छ । रामराज्यमा जताततै सत्य मात्र थियो । जनतालाई काम गर्न सहज होस् भनेर सबै मन्त्रालय, विभागमा योग्यतम् व्यक्तिले देश समाज चलाउने गर्थे । आजको समाजमा जस्तो आफ्नो नातागोता र आसेपासे भर्ना गर्ने चलन थिएन । क्षमता, योग्यता, दक्षता पुगेका व्यक्ति मात्र सम्बन्धित ठाउँमा नियुक्त गर्ने परम्परा थियो । त्यही भएर भनिन्छ, रामराज्यको समयमा सबै खुसी र सुखी थिए ।

त्यो बेलामा मन्त्रालय र विभाग पनि आवश्यकता अनुसार हुने गर्थे । एक व्यक्ति एक पद अनुसार एक व्यक्तिलाई एक मन्त्रालयको व्यवस्था थियो । त्यसमध्ये स्वर्गारोहण मन्त्रालय एक थियो । यो मन्त्रालय अरूभन्दा प्रभावशाली थियो । स्वर्गारोहण मन्त्रालयको जिम्मेवारी यमराजको जिम्मामा थियो । यमराज क्षमता, योग्यता, दक्षताका आधारमा उच्च कोटीका विद्वान् थिए ।

यमराज आफैँमा एकदम सबल सक्षम कुशल शासक थिए । मन्त्रालयको कार्यप्रकृतिले गर्दा उनी सधैँ अन्योलमा पर्थे । पृथ्वीलोकमा घरपरिवार, इष्टमित्र र समाजसँग हाँसीखुसी रमाई रमाई बसेका मानिसलाई कसरी धर्तीबाट स्वर्गमा पु¥याउने ? यहाँ आएपछि न फर्कन मिल्छ न पृथ्वीको समाजमा जस्तो चालचलन यहाँ मिल्छ । आफ्नो पदको काम नगरौँ भने लोकमा बेइज्जत, पुर्खाको अपमान हुने डरले यमराज चिन्तामा थिए ।

चिन्ताले पीडित यमराज आफ्नै घरमा बसिरहेका थिए । त्यही समयमा एक जना साधु त्यहाँ आइपुगेछन् । उनले यमराजलाई सोधेछन्, “के पिरमा छौ स्वर्गमन्त्री ।”

यमराजले आफ्नो समस्या बताए, “न यहाँ कर्मचारी भर्ना गरेर काम गर्न सकिन्छ न आफैँले ।”

त्यसपछि साधुले भनेछन्, “तिमीले यो समस्याबाट मुक्ति पाउने एक उपाय छ ।” 

यमराजले भनेछन्, “के उपाय छ प्रभु ?” 

साधुले भनेछन्, “हिमालबाट आएको पानी मात्र पिएर सात दिनसम्म यो यज्ञगिरि पर्वतमा ध्यान गर । त्यसपछि तिमीलाई ज्ञान प्राप्त हुने छ ।” 

साधुले बेलीविस्तार लगाएर फेरि भनेछन्, “अनि तिम्रो मन्त्रालयले गरेको फैसला युगीन हुने छ । आजका मितिदेखि पृथ्वीको अन्त्यसम्म कहीँ कतै कहिल्यै विवाद हुने छैन ।” साधुको कुरा सुनेपछि यमराजले आफ्नो तयारी गरी यज्ञगिरितर्फ लागेछन् । 

चारैतिर हिमाल देखिने अत्यन्तै सुन्दर पर्वतको सौन्दर्य वर्णन लेखेर र भनेर गरिसाध्य नभएको कुरा इतिहासका दस्ताबेज र बुढापाकाले बताउँछन् । वर्तमानमा इतिहासकारहरूलाई पनि यमराजले तत्कालीन समयमा ध्यान गरेको स्थानको बारेमा यहीँ स्थान हो भनेर निक्र्योल गर्न निकै कठिन भएको  छ । 

लोकका लागि अति नै महत्वपूर्ण ज्ञान प्राप्त गरेपछि यमराज घरमा फर्केछन् । यमराजलाई उनकी श्रीमतीले उक्त ध्यानस्थलको वर्णन गर्न निकै बल गरिछन् । यमराजले भनेछन्, “म घुम्न गएको होइन । जनताको कामका लागि त्यहाँ गएको हुँ । अहिले पनि जनताको काममा छु । जनताको कामको समयमा भएगरेका सबै प्रक्रिया भन्नु कानुनविपरीत हुन्छ । तिमीलाई भनेमा यो जनतामाथि सरासर अन्याय हुन्छ । अन्त्यमा म भविष्यमा यो पदका लागि अयोग्य हुने छु ।”

त्यसपछि यमराजले स्वर्गबासका लागि एउटा ऐन बनाएछन् । उक्त ऐन तत्कालीन समयको प्राकृतिक संविधानसँग नबाझिने गरी बनाएछन् । त्यसलाई आजपर्यन्त ‘मृत्यु ऐन’ का नामले चिनिन्छ । मृत्यु ऐनका बारेमा समाजमा हालसम्म एक मान्यता प्रचलित छ । मृत्यु ऐन मानव समाज रहेसम्म चलिरहोस् भनेर तिथि मिति नराखीकन यमराजले मृत्यु ऐन बनाए भनेर । त्यो ऐनमा दफा उपदफा केही उल्लेख गरिएको छैन । तत्कालीन समयका प्रचलित कानुन अनुसार यमराजले कार्यविधि मात्र बनाएको कुरा पनि श्रुति परम्परामा जीवित छ ।

यमराजको मृत्यु ऐनको कार्यविधि अनुसार एक वर्षमा १२ महिना हुने छन् । प्रत्येक महिनाको १ गतेलाई सङ्क्रान्ति भनिने छ । वर्षभरिमा दुई वटा सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेरिने छ । साउनेसङ्क्रान्ति र माघेसङ्क्रान्ति । वर्षभरिमा पृथ्वीका जनताको आवश्यकताका आधारमा जहिले पनि वर्षा हुन सक्ने छ । साउनेसङ्क्रान्ति र माघेसङ्क्रान्तिका दिन पर्ने पानी मृत्यु ऐनको नियममा रही पर्ने छ । साउनेसङ्क्रान्तिमा घनघोर पानी पर्ने छ । जबसम्म पृथ्वीका सबै मानिस त्यो पानीले भिज्दैनन्, मानिस नभिजेसम्म एक दिन, तीन दिन, पाँच दिन, सात दिन गर्दै पानी परिरहने छ । जुन दिनमा पृथ्वीका सबै मानिस पानीले भिज्ने छन्, त्यस दिन साउनेसङ्क्रान्तिबाट सुरु भएको झरी बन्द हुने छ । 

त्यसपछि पृथ्वीका सबै मानिस पानीमा बग्दै बग्दै पुस मसान्तमा प्रशान्त महासागरमा पुग्ने छन् । त्यसपछि माघेसङ्क्रान्तिमा सबैले रमाइलो गर्ने छन् । माघ १ मा फेरि पानी पर्ने छ । त्यही झरीबाट घाम केही चर्को हुने छ । अनि समुद्रको पानी बाफ बनेर आकाशतिर जाने छ । 

त्यो बाफबाट अहिलेको समयमा एक्सरे गरे जस्तो प्रत्येक मानिसले पृथ्वीमा गरेको कामको रिपोर्ट निस्कने छ । त्यही रिपोर्टका आधारमा पृथ्वीमा कुन मानिसले कति सामाजिक, कति असामाजिक; कति सत् कति असत् काम गरेका छन् भनी उनीहरूको वर्गीकरण गरिने छ । त्यसपछि मानिसले गरेका गलत कामका आधारमा एक वर्षभित्र कति मानिसलाई स्वर्गमा बोलाउने भन्ने निर्णय गरिने छ । 

वार्षिक कार्ययोजना बनाइने छ । अनि त्यस मानिसलाई स्वर्गमा आउने भ्रमण आदेशको नमुना फर्म नं. शून्य (०) भरी साधनको समेत व्यवस्था गरी पृथ्वीमा पठाइने छ । यसरी नै मृत्यु ऐनको कार्यान्वयन मानव समाज रहेसम्म रहिरहोस् भनी सो समयमा शतप्रतिशतको समर्थनबाट मृत्यु ऐन पारित भएको कुरा लोकमा प्रचलित छ । सोही समयदेखि नै मानिसको मृत्यु भएपछि यमराजले बोलाएको र ‘बलियाबाङ्गा बाघलाई बुढाखाडा माघलाई’ भन्ने उखान आजसम्म हाम्रो समाजमा चलिआएको जनविश्वास पाइन्छ ।

  

Author

युवराज शर्मा