• १२ साउन २०८१, शनिबार

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, जेठ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याउनुभएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताउनुभएको छ । 

इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले आज पठाउनुभएको समवेदना सन्देशमा उल्लेख छ । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ । 

इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका कृति एवम् कैयौँ अनुसन्धान तथा खोजमूलक लेख रचना चिरकालसम्म ज्ञानका भण्डारका रूपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । रासस