• ५ असार २०८२, बिहिबार

स्थानीय तहमा बिरामीभन्दा स्वास्थ्यकर्मी धेरै

blog

औषधी अभाव खेपिरहेको हटैराज स्वास्थ्य चौकी । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, असार ५ गते  ।  स्थानीय तहका स्वास्थ्य संस्थामा बिरामीका लागि अत्यावश्यक औषधी भेटिँदैन तर बिरामीभन्दा स्वास्थ्यकर्मी बढी भेटिन्छन् । जिल्लाका १० वटा स्थानीय तहका ८४ वडामा २९७ जना स्थायी दरबन्दीका स्वास्थ्यकर्मी कार्यरत भए पनि स्थानीय तहले थप २७१ जना करारमा भर्ना गरेका छन् । 

सुर्नया गाउँपालिका–१ को हटैराज स्वास्थ्य चौकीमा एक महिनादेखि अत्यावश्यक औषधी अभाव छ । पालिकाका जम्मा आठ वटा वडामा २८ जना स्थायी दरबन्दीका स्वास्थ्यकर्मी र १५ जना करारका स्वास्थ्यकर्मी कार्यरत छन् तर स्वास्थ्य संस्थामा बालबालिकालाई ज्वरो आएका बेला खुवाउने औषधी नभएको स्वास्थ्य हटैराज चौकी इन्चार्ज प्रकाश चन्दले बताउनुभयो । 

उहाँले गर्मीयाममा आँखाका बिरामीलाई निःशुल्क वितरण हुने औषधीसमेत नभएको बताउनुभयो । हटैराज स्वास्थ्य चौकीमा पाँच जना स्थायी र तीन जना करारका गरेर आठ जनाले सेवा दिँदै आएका छन् । यद्यपि स्वास्थ्य चौकीमा दैनिक दुई/तीन जना मात्रै बिरामी आउने गरेका छन् । जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिकाको दशरथ चन्द स्वास्थ्य चौकी, त्रिपुरा स्वास्थ्य चौकी र देहिमाण्डौँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै देखिएको छ । यहाँ दैनिक चेकजाँचका लागि आउने बिरामीभन्दा स्वास्थ्यकर्मी बढी भेटिने गरेको स्थानीय बताउँछन् । 

दशरथ चन्द स्वास्थ्य चौकीको त आफ्नै भवनसमेत नभएको स्वास्थ्य चौकी इन्चार्ज घनश्याम भट्टले बताउनुभयो । स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी भए पनि जिल्ला अस्पताल नजिक भएकाले अधिकांश बिरामी अस्पतालतिर जाने भएकाले सेवाग्राहीको भिड नभएको उहाँले दाबी गर्नुभयो । दशरथ चन्द नगरपालिकाका कुल ११ वडामा ३७ जना स्थायी दरबन्दीका स्वास्थ्यकर्मी कार्यरत भए पनि पालिकाले थप ३८ जना करारका स्वास्थ्यकर्मी भर्ना गरेको छ । 

जिल्लाको दुर्गम मानिने डिलासैनी गाउँपालिका–५, गोकुलेश्वर स्वास्थ्य चौकीको अवस्था पनि जस्तै छ । स्वास्थ्य चौकीमा १४ जना कार्यरत भए पनि सोमबार तीन जना मात्रै बिरामी आएको स्वास्थ्य चौकी इन्चार्ज परशुराज जोशीले बताउनुभयो । उहाँले चमेलिया नदी पारी छिमेकी दार्चुलाको गोकुलेश्वरमा अस्पताल भएकाले बैतडीका अधिकांश बिरामी उतै जाने गरेको बताउनुभयो ।

बर्थिङ सेन्टर बन्द, खुला चौरमा खोप

जिल्लामा १०८ वटा स्वास्थ्य संस्था बाहेक थप १५७ वटा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) भए पनि ३४ वटा मात्रै मापदण्ड अनुसार चलेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो । उहाँले स्थानीय तहका स्वास्थ्य संस्थामा बिरामीभन्दा स्वास्थ्यकर्मी धेरै भए पनि गुणस्तरीय सेवा नभएको बताउनुभयो । जिल्लामा एक अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रसहित १०८ वटा स्वास्थ्य संस्थामध्ये ७१ वटामा मात्रै खानेपानी र शौचालयको व्यवस्था छ ।