रामपुर (पाल्पा), असार ५ गते । कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवर्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेलागाडा उपलब्ध गराएको छ ।
वडाका ७५ जना किसानलाई शतप्रतिशत अनुदानमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो । किसानलाई कृषि उत्पादन, मल बीउ, दाना, पराल ओसारपसारका लागि कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष देवकोटा बताउनुहुन्छ ।
वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी ठेलागाडा वितरण गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले ससाना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो ।
यसैबीच, रामपुरका संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको छ । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा संस्थागत विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको हो ।
रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र भूपु सैनिक राइजिङ इङ्लिस बोर्डिङ स्कुलका एक सय १८ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीको स्वास्थ्य सुविधालाई दृष्टिगत गर्दै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । रासस