• ५ असार २०८२, बिहिबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, असार ५ गते । धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युत् तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे स्थानीय ५० वर्षीया मङ्लीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलीदेवी सोही वडाका रामअशिष महतोकी श्रीमती हुन् । घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा खेत वरिपरि जडान गरिएको करेन्ट प्रवाह गरिएको तारमा छोएपछि उहाँको घटनास्थलमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले घटनास्थलमा प्रारम्भिक अनुसन्धानमा स्थानीय रामप्रमोद महतोले जङ्गली जनावरबाट आफ्नो खेतमा लगाइएको तरकारी बाली जोगाउन बिजुलीको नाङ्गो तार खेत वरिपरि तानेर करेन्ट प्रवाह गरेको पाइएको बताउनुभयो । खेतको सुरक्षा गर्न बनाइएको विद्युतीय घेरामा परेर महिलाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बनधमा  थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी बिताउनुभयो । 

स्थानीय बासिन्दाका अनुसार यहाँका केही किसानले खेतको तरकारी तथा अन्य बाली जङ्गली जनावरबाट बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गर्ने गरेका छन् । तर यसरी जडान गरिएको अवैधानिक तारले मानवीय क्षति बढेको स्थानीयको भनाइ छ ।