• ५ असार २०८२, बिहिबार

सडकले ल्यायो जीवनशैलीमा सुधार

blog

सतबाज–श्रीभावर सडकखण्ड अवलोकन गर्दै स्थानीय । तस्बिर : केशवराज भट्ट

वासुलिङ समाचारदाता

बैतडी, असार ५ गते । सुदूरपश्चिम प्रदेश सरकारको पहलमा निर्माण भइरहेको सतबाज–श्रीभावर–हाट–दार्चुला सडक आयोजनाले बैतडी जिल्लाको ग्रामीण भेगका बासिन्दाको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

विगतमा दसैँतिहारपछि कामको खोजीमा भारत जान बाध्य रहेका सुर्नया गाउँपालिका–७ का धनबहादुर महरा पछिल्लो दुई वर्षदेखि गाउँमै कृषि पेसाबाट रमाइरहनुभएको छ । सडक पहुँच विस्तारसँगै गाउँमै उत्पादन गरिएको तरकारी बजारसम्म सहजै आपूर्ति हुन थालेपछि महरालगायतका कृषक आन्तरिक रोजगारीमा आकर्षित हुन थाल्नुभएको छ । 

पहिले फलाएको तरकारी बजारमा लैजान नसक्दा खेर जान्थ्यो, अहिले सडक सञ्जाल विस्तार भएसँगै व्यापारीले फोन गरेर तरकारी मगाउने गरेको महराले बताउनुभयो । 

त्यस्तै सुर्नया–६, मल्लाढोलेका टेकेन्द्र बोहोरा पनि सडक पूर्वाधारको विस्तारसँगै लाभान्वित हुनुभएको छ । पहिले सामान ओसारपसारका लागि टाढासम्म हिँड्नुपर्ने बाध्यता थियो । अहिले थोक व्यापारी बारीमै सामान किन्न आइपुग्छन् । सुदूरपश्चिम प्रदेश सरकारको २०७५ चैत ११ को निर्णय अनुसार प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको यो सडकले बैतडी जिल्लाका मध्य तथा दुर्गम भेगका बासिन्दालाई सुलभ आवागमनको सुविधा उपलब्ध गराएको छ ।

८० किलोमिटर दुरीको सतबाज–दार्चुला सडकखण्डमा हालसम्म ६० किलोमिटरमा नियमित सवारी सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा ४८ करोड ८२ लाख रुपियाँ बजेट विनियोजन भई स्तरोन्नति तथा कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढिरहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धीरेन्द्र भट्टले जानकारी दिनुभयो । 

यसै गरी श्रीभावर–हाट खण्ड अन्तर्गत २२ किलोमिटर सडकको ११ किलोमिटर कालोपत्रे भएको र बाँकी खण्डको कालोपत्रे २५ करोड रुपियाँको ठेक्कामा अगाडि बढिरहेको कार्यालयले जनाएको छ ।

“सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीको जीवनशैली सहज भएको छ,” सुर्नया–५ का देवसिंहले भन्नुभयो, “सिँचाइको सुविधा भएका ठाउँमा कृषकले व्यावसायिक तरकारी खेती विस्तार गरेका छन् । सानोतिनो कामका लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।”

पुर्चाैडी–७, कोटिलाकी बागमती ऐरका अनुसार पहिले सदरमुकाम पुग्न दुई दिन लाग्ने गरेकोमा अहिले चार÷पाँच घण्टामा नै पुग्न सकिने अवस्था सिर्जना भएको छ । सीमावर्ती झुलाघाटसम्म सहज आवागमन सुरु भएपछि उपभोग्य वस्तु सस्तो मूल्यमा बजारमा ल्याउन सकिने तथा कृषिजन्य वस्तुको सहज बजार व्यवस्थापनसमेत सम्भव भएको स्थानीयवासीले बताएका छन् ।