माोहनसिंह बुढा
अदानचुली, (हुम्ला) असार ५ गते । हुम्लाको ताँजाकोट गाउँपालिका–१ जिमाना गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानिमा निर्माण सम्पन्न भएपछि दूषित पानीले गर्दा गाउँमा झाडापखला फैलन समस्याको समाधान भएको हो ।
गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह-लगानी मा ८० लाख बजेटले निर्माण पूरा गरी घरघरमा धारा पुर्याएको बताउनुभयो । उहाँका अनुसार साना कुनिका छरेजस्तो बजेट वितरण नगरी बाहिरबाट ठुला परियोजनाहरुसँग समन्वय गरी यस वर्ष ठुला योजनाहरु मात्रै बनाएको छ ।
आयोजनाले घरघरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खाने तथा गाग्रीमा पानी बोक्नु पर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् । आयोजना सम्पन्न भएपछि सो जिमाना, भैँसाबाझ, गाउँका ४७ घरमा धारा जडान गरिएको छ । एक घर एक धारा जडान गरिएपछि वर्षौंदेखि काकाकुल जीवन गुजारेका स्थानीयलाई सहज भएको छ ।
आयोजनाको ताँजाकोट गाउँपालिकाका जैसीले धारा उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष जैसीले हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पु¥याउने नेपालको सरकार लक्ष्य भए अनुरुप यस वडामा खानेपानीको सुविधा पु¥याउन सक्दा खुसी लागेको बताउनुभयो । साथै अध्यक्ष जैसीले गाउँपालिकाले यहाँको खानेपानीको समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेकोले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) ले पनि आवश्यक बजेट दिएको जानकारी दिनुभयो ।
गाउँमा पानिको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरी आम्दानी वृद्धि गर्नमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो । छोटो समयमा नै योजना सम्पन्न गरेको भन्दै स्थानस्य नागरिकलाई समेत धन्यवाद दिएको थियो । स्थानीय मिमबहादुर खड्काले खोलाको धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो । खड्काले भन्नुभयो, “पानी परेको बेला खोला तथा नदी धमिलो भएको बेला नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो, अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।’’
सोही ठाउँकी मेनुका रिठाल घर घरमा धारा नहुँदा दूषित पानी खानुपर्ने मात्रै नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता हटेको हुदा हर्षित भएको बताउनुभयो । साथै उहाँले विगतमा गाउँमा दूषित पानीले झाडापखला फैलिने गरेकोमा सफा पानी पाउँदा खुसी छाएको बताउनुभयो ।