• ५ असार २०८२, बिहिबार

फराकिलो सडकले फेरियो पहिचान

blog

चौमाला समाचारदाता

चौमाला, असार ५ गते । महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्षपहिला सम्पूर्ण रूपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भूभाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेको हातमा नेपाली नागरिकता मात्र थियो । सरकारले तोकेको राजस्वसमेत समयमै तिर्थे तर सरकारबाट पाउनुपर्ने प्रायः सबै सेवा सुविधाबाट भने उनीहरू वञ्चित थिए । सङ्घीयता आएपछि दोधारा चाँदनीको अवस्था पनि फेरिएको छ । 

कुनै बेला महाकाली नदीमा ज्यानको बाजी थापेर ट्युबमा यात्रा गर्न बाध्य दोधारा चाँदनीवासी अहिले चार लेनको पक्की पुल र निर्माणको गृहकार्यमा रहेको सुक्खा बन्दरगाह जस्ता मुलुककै ठुला आयोजनासँग जोडिँदा खुसी छन् । मुलुक सङ्घीय संरचनामा गएसँगै महाकाली नदीमा झोलुङ्गे पुलसँगै चार लेनको पक्की पुल निर्माण भएपछि अहिले दोधारा चाँदनीवासीको दैनिकी नेपाली बजारसँग जोडिन थालेको हो । 

२०६१ सालमा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिएको भए पनि चारपाङ्ग्रे सवारीसाधनको पहुँचमा दोधारा चाँदनी पुग्न सकेको थिएन । जसले गर्दा यहाँ पुग्न मोटरसाइकलकै भर पर्नुपर्ने हुन्थ्यो । जुन निकै जोखिमपूर्ण थियो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले व्यवस्थासँगै यस क्षेत्रको अवस्था पनि फेरिँदै गएको बताउनुभयो । कुनै बेला बिरामी भइहाले उपचारका लागि भारतीय बाटो हुँदै एम्बुलेन्समा महेन्द्रनगर बजार ल्याउनु पथ्र्यो । अहिले देशभित्रैको सडक हुँदै महेन्द्रनगरसम्म पुग्न सकिन्छ । दोधारा चाँदनीबाट महेन्द्रनगर बजार आउन मात्रै नभएर अहिले दोधारा चाँदनीभित्रकै यातायात सञ्जालमा निकै सुधार आएको उहाँले बताउनुभयो । 

१० वर्षपहिलेको मात्रै तुलना गर्ने हो भने यहाँ सडक सञ्जालले निकै फड्को मारेको छ । साइकल, मोटरसाइकल चलाउन पनि हम्मे हम्मे पर्ने यहाँका सडक अहिले निकै फराकिला भएका छन् । दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले आफूहरू निर्वाचित भएयता न्यायिक समितिमार्फत न्याय सम्पादन, बजार अनुगमनलगायतका क्षेत्रमा फड्को मारेको बताउनुभयो । अहिले यस क्षेत्रका नागरिकको दैनिकी नै फेरिएको उहाँको भनाइ छ । जिल्लाकै नमुनाका रूपमा सडक सञ्जाल र पुलपुलेसा विस्तार र स्तरोन्नति देखिने गरेर नै भएका छन् । पहिले सधैँ टाढा लाग्ने सदरमुकाम अहिले मोटरसाइकलमा ३० मिनेटमा पुगिने स्थानीय विनोद सुनारले बताउनुभयो ।