रामेछाप समाचारदाता
रामेछाप, असार ६ गते । रामेछापको खाँडादेवी गाउँपालिका–४ स्थित पुछिघाटको झोलुङ्गे पुलमा बाँसका भाटा बिछ्याएर जोखिमपूर्ण बनाएको पाइएको छ । गत असोज १२ गते आएको बाढीले क्षति पु-याएको झोलुङ्गे पुलको मर्मत नभएपछि स्थानीयले भाटा बिछ्याएर वारपार गर्न थालेका हुन् । पुलको स्थायी रूपमा मर्मत नभएपछि गाउँपालिकाले चार लाख रुपियाँ बजेट खर्च गरेर बाँसका भाटा प्रयोग गरी पुलमा हिँड्न मिल्ने बनाएको हो । भाटा बिछ्याइएको पुलबाट जोखिम मोलेर वारपार गर्नु परेको स्थानीय रणबहादुर माझीले बताउनुभयो ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६, चैनपुरसँग जोड्ने १८० मिटर लम्बाइको यो पुलको रामेछापतर्फ करिब ३० मिटरमा बाढीले क्षति पु-याएको छ । स्थानीय माझीले भन्नुभयो, “पुल भत्किएको नौ महिना भयो तर सम्बन्धित निकायले चासो देखाएन । वर्षा सुरु भइसकेको छ, त्यसैले हामीले बाँसको सहारामा मर्मत गरेका हौँ ।” बाँसको अस्थायी संरचना निकै जोखिमपूर्ण छ । बालबालिका, वृद्धवृद्धा र अशक्तलाई आवतजावत गर्न अत्यन्तै कठिन रहेको उहाँले बताउनुभयो । बर्खा सुरु भएसँगै पुछिघाटवासीलाई क्षतिग्रस्त झोलुङ्गे पुलबाट यात्रा झनै खतरापूर्ण बनेको छ । छिटो स्थायी र सुरक्षित पुल निर्माणको माग रहेको उहाँले बताउनुभयो ।
डुङ्गाको सहारामा नौ महिना
बाढीले पुलमा क्षति गरेपछि स्थानीयले नदी वारपार गर्न डुङ्गाको सहारा लिनु परेको थियो । पुछिघाटका ७० घरमध्ये ६० घर माझी समुदायका छन् । खेतीपाती, स्वास्थ्य सेवा, विद्यालयलगायतका कार्यका लागि सुनकोशी पार गर्नु अपरिहार्य भएकाले गाउँलेहरू डुङ्गा चलाउन बाध्य भएको स्थानीय नवराज माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक घरबाट मासिक तीन सय रुपियाँ उठाएर दुई जना चालक राख्यौँ । दुई जनालाई २२ हजार रुपियाँ पारिश्रमिक दिइएको थियो । त्यसैबाट बालबालिका, वृद्धवृद्धा, सबैले नदी तरेर आफ्नो काम चलाइरहेका थियौँ । खेतीपाती पनि डुङ्गाबाटै कोशी तरेर गरिन्थ्यो ।” हाल अस्थायी मर्मतपछि यो सेवा बन्द गरिएको भए पनि जोखिम भने कायमै छ । स्थानीयवासीले स्थायी संरचना निर्माणका लागि स्थानीय जनप्रतिनिधिको ध्यानाकर्षण गराइरहेका छन् ।
समस्या गम्भीर बन्दै गएपछि खाँडादेवी गाउँपालिकाले तत्काल चार लाख रुपियाँ बजेट छुट्याएर भाटा प्रयोग गरी अस्थायी मर्मत गरिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । प्राविधिक अध्ययन अनुसार पुलको पुनर्निर्माणका लागि करिब दुई करोड ५० लाख रुपियाँ आवश्यक पर्ने देखिएको उहाँले बताउनुभयो । पुललाई पूर्ण रूपमा सुरक्षित र स्थायी बनाउन आवश्यक बजेटको पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।