भवानीदत्त भट्ट
कञ्चनपुर, असार ५ गते । मनसुन सक्रिय हुँदै जाँदा यस वर्ष विपद् जन्य घटनाबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले नौ वटै पालिकामा मनसुन जन्य विपदका घटनाबाट जोगिन पूर्व तयारी थालिएको हो ।
कञ्चनपुरको दक्षिणी क्षेत्र र दोधाराचाँदनी नगरपालिकामा बाढी र डुबानको समस्या अत्यधिक हुने भएकाले ती पालिकाहरूमा स्वयम् सेवक खटाइ उनीहरूलाई तालिम उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दोधारा चाँदनी नगरपालिकामा ५२ स्वयम् सेवक, लालझाँडी गाउँपालिकामा ५० स्वयम सेवक र लालझाडी गाउँपालिकामा २७ जना स्वयम् सेवकलाई पूर्व तयारी तालिम उपलब्ध गराइएको बताउनुभयो । बाढी प्रभावित बस्ती, समुदाय र व्यक्तिको पहिचान गरी विपदको समयमा घर छोड्न र डुबानबाट जोगाउन सहज हुने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।
स्वयम् सेवकहरुलाई आवश्यक सामग्री उपलब्ध गराउन पनि पालिकाहरूसँग छलफल भएको उहाँले बताउनुभयो । विपद् आएका बखत उनीहरूले समयमै डुबानमा परेकाको उद्धार गर्ने, उचित स्थानमा सार्नै र बाढी प्रभावित क्षेत्रको समयमै सूचना प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्व तयारी तथा विपद प्रतिकार्य योजना २०८२’ अपडेट गरेको छ, जुन साउन १ गतेदेखि लागू हुने जनाइएको छ ।
‘हरेक पालिका, गैरसरकारी संस्था र सुरक्षा निकायमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ,’’ प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो, ‘‘पालिकामा रहेको सामुदायिक प्रतिकार्य समूहलाई तत्पर रहन आग्रह गरेका छौँ ।’’
बाढी प्रभावित क्षेत्रमा कटान र डुबानको समस्या निवारण गर्न कटान रोक्न पूर्व तयारी थालिएको उहाँले बताउनुभयो । हाल महाकाली नदीमा नेपाली सेनाले गाइडबण्ड निर्माणको काम गरिरहेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा पालिकाहरूले तटबन्ध निर्माणको काम गरिरहेका जनाइएको छ ।
विपदबाट जोगिन बन्दोबस्त सामग्रीको तमतयार अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । विपद प्रतिकार्य योजनामा पहिचान गरी त्यसै अनुरूप आवश्यक परेको बेला संयन्त्र परिचालन गरिने उहाँले बताउनुभयो ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुरले जिल्लाका विभिन्न ६ स्थानमा विपद् बेस क्याम्प खडा गरेको छ ।
मनसुन जन्य विपदमा परेकाको तत्कालै उद्धारका लागि बेस क्याम्पस खडा गरिएको सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हेर्ड क्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, शुक्लाफाँटा नगरपालिका १२ कालागौडी, गड्डाचौकी, भुजेला, कृष्णपुर नगरपालिका ५ सीमरी, बेलौरी नगरपालिका १० भुडा र दोधाराको कुतियाकभरमा विपद् बेस क्याम्प खडा गरिएको छ । प्रति बेस क्याम्पमा १० जना जनशक्ति परिचालन गरिने उहाँको भनाइ छ । हाल जिल्लामा विपद्सम्बन्धी तालिम गरेका ४० जना जनशक्ति उपलब्ध रहेका छन् ।
उहाँका अनुसार, जिल्लामा विपद् सूचक तयार गर्नै योजना पनि अगाडि बढाइएको छ । हाल १२ सय विपद् सूचक तयार गरिएको शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रत्येक वडामा २५ सूचकका दरले ९३ वटै वडामा २३ सय विपद् सूचक तयार गर्दे छौँ ।’’