विजयकुमार साह
ढल्केबर, असार ५ गते । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा उइङ्गर गाडीले ठक्कर दिँदा साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी जटाशङ्कर यादवले उइङ्गर गाडीले ठक्करबाट सोही वडाका ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन् भने मिथिला नगरपालिका–४, पुष्पवलपुरका ६० वर्षीय बिन्दे साहको मृत्यु भएको बताउनुभयो ।
उहाँका अनुसार बुधबार राति करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ ज ७०४९ नम्बरको उइङ्गर गाडीले सडक छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । उक्त ठक्करपछि गाडीले पूर्व दिशाबाट साइकलमा आउँदै गरेका दुई जनालाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । मृतकको शव अस्पतालमै राखिएको छ । मण्डलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीय करिब आधा घण्टा सडक अवरुद्ध गरेका थिए । दुर्घटनापछि उइङ्गर गाडी प्रहरी नियन्त्रणमा रहेको छ भने गाडी चालक भने फरार भएकाले खोजी कार्य भइरहेको प्रहरी निरीषक यादवले बताउनुभयो ।