• १२ मंसिर २०८१, बुधबार

'प्रदेश सरकार छाडा चौपाया व्यवस्थापनमा गम्भीर छ'

blog

बुटवल ७ मा रहेको नन्दनी गौशालाको निरीक्षण गर्दै मुख्यमन्त्री महरा । तस्बिर : गोरखापत्र

छविलाल पाण्डे 

बुटवल, जेठ ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा सहयोग गर्ने बताउनुभएको छ । मुख्यमन्त्री महराले छाडा चौपायाका कारण सडक दुर्घटनासँगै किसानले लगाएको बाली नष्ट हुने गरेकाले यसको ब्यवस्थापनमा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउनुभयो । 

बुटवलको शिवनगरमा रहेको नन्दनी गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले छाडा चौपाया व्यवस्थापनमा प्रदेश सरकारले विशेष चासो दिने समेत बताउँदै लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी रहेको भन्दै व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा प्रशंसा गर्नुभयो । उहाँले छाडा चौपाया व्यवस्थापनमा बुटवलको अभियानको सिको सबै स्थानीय सरकारले गर्नुपर्ने बताउँदै छाडा चौपायाबाट हुने जोखिम कम गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । 

"मुख्य समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा बुटवलले आफैं जे जसरी अगाडि सर्‍याे यो एकदमै राम्रो कुरा हो", उहाँले भन्नुभयो, "बुटवललाई हामीले आगामी आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारलाई सपोर्ट गर्ने गरी बजेटको व्यवस्था गर्छौं ।"  

मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका चुनौती र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताउनुभयो । 

प्रमुख पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेशस्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरुलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताउनुभयो । बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको नन्दनी गौशालामा नगरभित्रका ५ सयभन्दा बढी छाडा गागोरु व्यवस्थापन गरिरहेको छ ।