काठमाडौँ, जेठ ४ गते । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।
यसअघि संसदमा देखिएको गत्यवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई अहिले छलफलमा बोलाउनुभएको हो ।
यसैगरी, सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आउनुभएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अवरोधको अवस्थामा रहेको सभाको बैठक सञ्चालन गर्ने विषयमा राजनीतिक दलबीच छलफल भइरहेको र प्रतिपक्षले केही समय माग गरेकाले शुक्रबारको बैठक सुरु हुन विलम्ब भएको जानकारी दिनुभयो ।