रमेश विश्वकर्मा
गुल्मी, जेठ ३ गते । पश्चिम गुल्मीमा अवस्थित मदाने गाउँपालिकाले चालु आर्थिक वर्ष २०८० र ०८१ को हालसम्म कुल २७६ योजनामध्ये १६८ योजनाहरूको भुक्तानी गरिसकेको छ । चालु आर्थिक वर्षको हालसम्म सम्झौता भएका २७० योजनामध्ये १०२ योजनाको भुक्तानी बाँकी रहेको त्यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।
मदाने गाउँपालिका वडा नम्बर-५ मलागिरीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाले चालु आर्थिक वर्षको हालसम्म गरेका प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले पालिकाले तेस्रो त्रैमासिकसम्म आठ हजार ७९१ जनालाई आठ करोड १२ लाख १६ हजार १२१ रुपियाँ सामाजिक सुरक्षा रकम वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार यस पालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म ५५ जनालाई कुल तीन लाख ४५ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ ।
कृषितर्फ कृषि प्रदर्शनी मेला, टोलटोलमा गएर मागमा आधारित कृषक तालिम प्रदान गरिएको पन्थीले जानकारी दिनुभएको छ । उहाँले प्रस्तुत गरेको प्रगति विवरणमा त्यस पालिकाका ६ वडाका ३८० जना कृषकहरू कृषक तालिममा सहभागी भएका छन् । पालिकाबाट २० लाख रुपियाँ बराबरको ६५० क्विन्टल सुन्तला निर्यात गरिएको छ ।
पालिकाले पशुतर्फ ७८० घरपालुवा तथा भुस्याहा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाएको छ । २५ सय कुकुरलाई रानीखेत भ्याक्सिन लगाएको छ । ४५ गाई भैँसीमा कृत्रिम गर्भाधान गराइएको छ । भेटेरिनरी अस्पतालको सहयोगमा २५ घरधुरीलाई कुखुराको खोर र १२ सय ५० कुखुराका चल्ला वितरण गरिएको पन्थीले बताउनुभयो । चालु आर्थिक वर्षको अहिलेसम्म १ हजार ९९ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । ६०७ जनाले जन्मदर्ता भएका छन् । भने २०७ जनाले मृत्यु दर्ता गराएका छन् । १० जनाले सम्बन्ध विच्छेद गरेका छन् भने २१० जनाले विवाह दर्ता गराएका छन् ।
आर्थिक वर्ष २०८० र ०८१ को २० युनिट सम्मको न्यूनतम विद्युत महसुले भुक्तानी गरिदिएको उहाँले बताउनुभयो । पालिकाबाट यहाँका विपद् प्रभावित ६८ जना नागरिकहरूलाई रु. ८ लाख ३९ हजार वितरण गरिएको छ । न्यायिक समितिमा २३ वटा निवेदन दर्ता भएकोमा २० वटा फर्छ्यौट गरिएको छ । यस पालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म ६२।३८ प्रतिशत चालु खर्च भएको छ । पुँजीगत खर्च भने ४०।८१ प्रतिशत भएको छ । यस पालिकामा हालसम्म ३० लाख ८९७ रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको छ ।
त्यस्तै, सार्वजनिक सुनुवाइमा सेवाग्राही स्थानीयहरूले सडक, शिक्षा, यातायात, कृषि तालिम लगायतका विषयमा गुनासो राखेका थिए । स्थानीयहरूको गुनासोप्रति आफूहरूको ध्यानकृष्ण भएको बताउँदै पालिका उपप्रमुख तथा प्रमुख जवाफदेहीवक्ता सरिता खड्काले आफूहरू सधैँ नागरिकहरूको बिचमा भएकाले यस्ता गुनाँसाहरु आगामी दिनमा नआउने गरी थप काम गर्ने बताउनुभयो । उहाँले स्थानीयबाट सुझावहरू धेरै प्राप्त भएकाले आगामी दिनमा त्यस्ता सुझावहरूलाई कार्यान्वयन गर्ने बताउनुभएको छ । उहाँले नागरिकहरूको सहजताका लागि समय(समयमा नागरिकहरूको प्रत्यक्ष घरदैलोमा घुम्ती शिविर मार्फत सेवा प्रवाह गर्ने गरिएको बताउनुभयो ।
सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर कार्यक्रम गरी पालिकाबाट प्रदान गरिने सेवाहरूलाई नागरिकहरूलाई घरदैलोबाटै सेवा प्रवाह गरिएको थियो । वडा नम्बर( ५ को वडा कार्यालय मलागिरीमा गरिएको घुम्ती शिविर मार्फत झन्डै ५ सय जनाले सेवा लिएका छन् । जसमा १२५ ज्येष्ठ नागरिक परिचयपत्र वितरण, १६९ जना कृषकहरूलाई पशु औषधि वितरण, १५९ जना कृषकहरूलाई तरकारी बाली बिउपल वितरण गरिएको त्यस वडाका वडाध्यक्ष हिमाल खड्काले बताउनुभयो ।