गजेन्द्र गुरुङ
खजुरा, जेठ ३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ सञ्चालनमा ल्याएको छ । अभियान सफल पार्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाबिच सम्झौता गरिएको हो ।
बाँके प्रहरीले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ सञ्चालनमा ल्याइएको तथा अभियान सफल पार्नका लागि प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाबिच सहकार्य रहने गरी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको जनाएको छ ।
बाँके प्रहरीका अनुसार लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिने, लागूऔषध दुर्व्यसन पीडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषधविरुद्ध सरोकारवाला निकायहरूबिच सहकार्य गरी अगाडी बढ्ने, समुदाय प्रहरी साझेदारीलाई प्रवर्धन गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका एकीकृत अभियानको उद्देश्य रहेको छ ।
अभियान सञ्चालन गर्नका लागि जेठ २ गतेदेखि असार १५ गतेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र सहकार्य रहने गरी दुई पक्षबिच सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको छ । सम्झौतापत्रमा लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीलाई तीव्रता दिने, फार्मेसी तथा औषधि पसलहरूको अनुगमन तथा कारबाही गर्ने, दुर्व्यसनी जोखिम स्थान र व्यक्तिहरूको पहिचान-अभिलेख अद्यावधिक गर्ने, लागूपदार्थ सेवन (लापसे) चेकजाँच किटको व्यवस्थापन गरी प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने तथा सीमा नाका तथा शङ्कित स्थानहरूमा सुँघ्ने कुकुर परिचालन गरिने उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार सम्झौतापत्रमा दुर्व्यसनीलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालयमा एक दिने मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने, लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने, सुधार गृहसँग समन्वय गरी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने, रेडियो जिङ्गलहरु तयार गरी प्रसारण गर्ने, होडिङ बोर्ड निर्माण गरी जडान गर्ने, लागूऔषध दुर्व्यसनविरुद्ध विभिन्न सडक नाटकहरू आयोजना गर्ने तथा सरोकारवाला निकायहरूबिच समकक्षी समन्वय कार्यक्रम सञ्चालन गर्ने बुँदाहरू उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालयका तर्फबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । सम्झौताको समय अवधि समाप्त भएपश्चात् अभियानको समीक्षा तथा प्रतिवेदन सार्वजनिक गरिने बाँके प्रहरीले जनाएको छ ।