गोकर्ण पौडेल
तुलसीपुर, जेठ ३ गते । लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद स्नातक तह (विएएमएस) सञ्चालन गर्दैआएको छ ।
केन्द्रीय लुम्बिनी प्रदेश सरकारले दुईसय बेडको एकीकृत अस्पताल निर्माणका लागि प्रक्रिया पूरा गरिएको छ । आयुर्वेद केन्द्रीय विद्यापीठको अनुगमन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुन मगरले भन्नुभयो, ‘कोरोना महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रूपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्छ ।’
बजेटको आकार घटिरहेको सङ्केत गर्दै मन्त्री पुन मगरले अस्पताल सञ्चालनका लागि तत्काल न्यूनतम बजेटको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयका उपलब्धि विषयमा मन्त्री पुन मगरलाई जानकारी गराउनुभयो ।
सङ्घीय सरकारको पहिलो प्राथमिकताको आयोजनाका रूपमा रहेको दुईसय बेडको एकीकृत अस्पताल निर्माण योजनालाई अलपत्र पारिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति लामिछानेले सो योजनालाई अगाडि बढाउन आग्रह गर्नुभयो ।