• १२ मंसिर २०८१, बुधबार

एमाले गुल्मीको अधिवेशन जेठ २९ र ३० गते हुने

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ ३ गते । 
नेकपा (एमाले) गुल्मीको १२ औँ जिल्ला अधिवेशन यही जेठ २९ र ३० गते हुने भएको छ । एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाको अध्यक्षतामा मदन आश्रित स्मृति भवन तम्घासमा सम्पन्न ११ औँ बैठकले जेठ २९ र ३० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकबाट अधिवेशनका लागि जेठ १० गतेभित्र सदस्यता नवीकरण गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो । एमाले गुल्मीको ११ औँ अधिवेशन २०७८ पुस महिनामा भएको थियो । सदस्यता नवीकरण सकिएलगत्तै अधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

सदस्यता नवीकरणको अनुपातमा जनजाति, दलित, महिला, अपाङ्ग, अल्पसङ्ख्यकसहित समावेशी रूपमा वडा केन्द्रित रहेर प्रतिनिधि छनोट गरिनेछ । आयोजक जिल्ला कमिटी स्वतः प्रतिनिधि हुने व्यवस्था रहेको छ । १२ औँ जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ । जिल्ला अधिवेशन पश्चात् वडा र पालिका अधिवेशनको मिति तय गरिने सचिव श्रीपालीले बताउनुभयो ।