• १२ मंसिर २०८१, बुधबार

यातायात ठप्प हुँदा यात्रु मर्कामा

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, जेठ ३ गते । पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । सो समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा स्थानीय यातायात सेवा ठप्प हुँदा यात्रु मारमा परेका हुन् ।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेसँगै परियोजनाको विरोध हुँदै आएको छ । केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबुलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत विभिन्न छ वटा समूहले आह्वान गरेको बन्दका कारण बुधबार बिहानैदेखि यातायात ठप्प हुँदा यात्रु मारमा परेका हुन् । 

मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दुरीका सवारीसाधन ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका छैनन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका छन् । यातायात बन्द आह्वान भएपछि मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापासम्म सञ्चालन हुने यातायात सेवा ठप्प भएको हो । 

त्यस्तै तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर, धनकुटाको चौबिसे, भेडेटार हुँदै सुनसरीको धरान र इटहरीसम्म सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । यातायात ठप्प हुँदा लामो तथा छोटो दुरीमार्फत आफ्नो गन्तव्यका लागि यात्रुले यात्रा गर्न पाएका छैनन् । आफ्नो गन्तव्यका लागि यात्रा गर्न नपाउँदा जरुरी तथा अत्यावश्यक काम हुने यात्रु बढी मारमा परेको बताइएको छ ।

यता आफ्नो मागविपरीत केबुलकार परियोजनाको व्रिmयाकलाप सुरु गरिएको भन्दै सङ्घर्षरत समूहले मङ्गलबार विज्ञप्ति जारी गर्दै बुधबार र बिहीबार दुई दिन मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको छ । बन्दको पहिलो दिन बुधबार एम्बुलेन्स, दुग्धजन्य तथा तरकारीजन्य वस्तु बोकेका सवारीसाधनका साथै मोटरसाइकलबाहेकका कुनै पनि यातायातका साधन चलेनन् ।

पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) मा केबुलकार निर्माण गर्ने नाउँमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लाँलीगुराससहितका उपोन्मुख वनस्पतिहरू कटान गर्न थालिएको भन्दै आफूहरू सशक्त आन्दोलनमा उत्रनु परेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् । ऐतिहासिक स्थलको वन उजाड हुने गरी रुख कटान गर्ने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केबुलकार योजना रद्द गर्नुपर्ने सो समूहको माग छ । केबुलकार परियोजना पक्षले सोमबार निर्माण स्थलमा रुख कटान गरेको थियो ।