कल्पना खरेल
नवलपरासी पश्चिम, असार ११ गते । परम्परागत रुपमा हातले रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाउन धान रोप्ने प्रविधिको प्रदर्शन गरिएको छ ।
जिल्लामा पहिलो पटक प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले सुनवल नगरपालिकास्थित स्वाठी कृषि सहकारीको जग्गामा धान रोपण प्रविधिको प्रवर्धन गरेको हो ।
जिल्लाका किसानले मेसिनको प्रयोग गरेर अहिलेसम्म धान रोपेका छैनन् । धानमा पूर्ण रुपमा यान्त्रिकरण गरी किसानलाई प्रविधिसँग जोड्न पहिलो पटक मेसिनको प्रयोग गरिएको परियोजना कार्यान्वयन एकाइ रुपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिनुभयो ।
रोपाइँका समयमा मजदुर अभावका कारण समस्या भोग्दै आएका किसानलाई मेसिनको साहेताले धान रोप्दा त्यसको अभावलाई पूर्ति गर्नुका साथै कम लागतमा उत्पादनमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।
पहिलो पटक मेसिनले धान रोपको देखिेपछि उत्साही भएका किसानहरु त्यसको उत्पादन हेरेपछि मात्र प्रयोग गर्नेबारे सोच्न सकिने बताएका छन् । मेसिनले धान रोप्दा टाढाटाढा रोप्ने र धानको गाज माथि नै रहेको हुँदा पानी पर्दा निस्कन्छ कि भन्ने डर किसानमा लागेको स्वाठी कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर थापाले बताउनुभयो ।
परियोजनाका कृषि अधिकृत काफ्लेले भने चारपाङ्ग्रे ट्याक्टर मेसिनबाट धान रोप्दा किसानको खर्चमा दुईदेखि तीन गुणा सस्तो पर्ने बताउनुभयो । जिल्लाको सुनवल र रामग्राम नगरपालिका गरी चार वटा वडामा धानको कृषि जोन कार्यक्रम सञ्चालन गर्दै आएको परियोजनाले आगामि वर्ष किसानलाई धान रोप्ने मेसिन उपलब्ध गराएर धानको क्षेत्र विस्तार गर्ने योजना राखेको छ ।
जिल्लामा कुल ४१ हजार हेक्टर खेतीयोग्न जमिनमध्ये २१ हजार हेक्टरमा धान खेति हुँदै आएको छ । यस वर्ष अहिलेसम्म झण्डै ७० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो ।