• ११ असार २०८२, बुधबार

रुकुम पश्चिमका ६ स्थानीय तहको बजेट तीन अर्ब ६२ करोड

blog

आठबिसकोट नगरपालिकाको कार्यक्रम र बजेट उपप्रमुख धनकुमारी शाहीलाई हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख रवि केसी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, असार ११ गते ।
रुकुमपश्चिमका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब ६२ करोड ८८ लाख ९६ हजार ५५० रुपियाँको बजेट ल्याएका छन् । चालु र पुँजीगत खर्च समेटिएको बजेट मार्फत सबै स्थानीय तहले सामाजिक विकास, पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् ।

चौरजहारी नगरपालिकाको २१ औँ नगर सभामा उपप्रमुख ईश्वरी शर्मा बिंमले पेश गर्नुभएको कार्यक्रम र बजेट पारित भएको छ । चौरजहारीले कुल ८१ करोड ९४ लाख ८३ हजारको बजेट पारित गरेको हो । यो संघसंस्थाहरु समेतको बजेट हो । सङ्घसंस्थाहरुको बाहेक सञ्चित कोषको बजेट भने ५७ करोड ४१ लाख ९५ हजार २५ रुपियाँ रहेको छ । जसमध्य चालुतर्फ ७४.५९ प्रतिशत अर्थात ४२ करोड ८३ लाख १९ हजार ७८८ र पुँजीगततर्फ २५.४० प्रतिशत अर्थात १४ करोड ५८ लाख रहेको छ ।

मुसिकोट नगरपालिकाको १५ औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले ६९ करोड ९९ लाख ९४ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार दुई सय अर्थात् ७५.३० प्रतिशत रहेको छ भने पुँजीगततर्फ १७ करोड २९ लाख अर्थात् २४.७० प्रतिशत छ ।

त्यसैगरी, आठबिसकोट नगरपालिकाको १८ औँ नगरसभा ७६ करोड ३८ लाख ६९ हजार रुपियाँको बजेट पेस भएको छ । नगर उपप्रमुख धनकुमारी शाहीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात ६४.६० प्रतिशत र पुँजीगत तर्फ २७ करोड चार लाख ३७ हजार अर्थात ३५.४० प्रतिशतको बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि ५४ करोड ८६ लाख ३२ हजारको बजेट गाउँसभामा पेस गर्नुगरेको छ । कुल बजेटमध्य चालुतर्फ ४१ करोड ५४ लाख ३२ रुपियाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगततर्फ १३ करोड ३२ लाख अर्थात् २४.२८ प्रतिशत बजेट छ ।

सानीभेरी गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष कमला रोका पुनले ५३ करोड ९७ लाख छ हजार ९९९ रुपियाँ बजेट पेस गर्नुभएको छ । जसमध्ये चालुतर्फ ३९ करोड ३३ लाख ९२ हजार चार सय ३२ अर्थात ७२.८९ प्रतिशत र पुँजीगततर्फ १४ करोड ६३ लाख १४ हजार पाँच सय ६७ रुपियाँ अर्थात् २७.११ प्रतिशत छ ।

बाँफिकोट गाउँपालिकाको १८ औं गाउँसभामा ५० करोड २५ लाख ७४ हजार ५६३ रुपियाँको बजेट पेस भएको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले उक्त अनुमानित बजेट पेश गर्नुभएको हो । कुल बजेटमध्ये ३१ करोड ७५ लाख २५ हजार ६५५ रुपियाँ चालुतर्फ र १८ करोड ५० लाख ४८ हजार ९०८ रुपियाँ पुँजीगततर्फको छ ।