• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सरकारमा नजाने नेकपा एमालेको निर्णय

blog

भावना जोशी 

अत्तरिया, जेठ २ गते । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको हो । 

एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ । साथै मुख्यमन्त्री सोडारीलाई न्यूनतम साझा कार्यक्रम तयारीको लागि सत्ता गठबन्धनका दलहरूसँग छलफल र परामर्श गर्न पनि सुझाव दिइएको एमाले संसदीय दलका नेता रावलले जानकारी दिनुभयो । 

मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोज्नुभएको थियो । तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम हालसम्म स्थगित हुँदै आएको थियो । नेकपा (एकीकृत समाजवादी) का दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री सोडारीले बिहीबार १०ः१५ बजे विश्वासको लिने कार्यक्रम तय भएको छ । 

सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको २७ औँ दिनमा विश्वासको मत लिन लाग्नुभएको हो । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री सोडारीलाई एमालेका ११ र नेकपा (माओवादी केन्द्र) का १० गरेर २२ जना, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र एक जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन रहने जनाइएको छ ।