• १९ असार २०८१, बुधबार

बङ्गुरपालनबाट एक लाख कमाइ

blog

ठाकुरप्रसाद आचार्य 

बेनी (म्याग्दी), वैशाख १० गते । बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उहाँले बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्नुहुन्छ । उहाँको यो दिनचर्या चलेको आठ वर्ष भइसकेको छ । 

“विदेश पनि भोगियो, दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बङ्गुरपालन गरेका छौँ, सबै जना खुसी छौँ,” विश्वकर्माले भन्नुभयो । बङ्गुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बङ्गुरपालन व्यवसाय सुरु गरेको बेनी नगरपालिका–७, मङ्गलाघाटका युवा विश्वकर्माले बताउनुभयो । “विदेशमा १२ वर्ष दुःख गरियो,” विश्वकर्माले भन्नुभयो, “विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।” बङ्गुरपालन व्यवसायबाट मासिक एक लाख रुपियाँसम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।  

दुई लाख ५० हजार रुपियाँबाट सुरु गरेको बङ्गुरपालन व्यवसाय अहिले करिब ५० लाख रुपियाँसम्म लगानी पुगेको छ । खोर निर्माण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बङ्गुर जोन कार्यक्रमले अनुदान उपलब्ध गराएपछि परम्परागत खोरलाई आधुनिकीकरण गरिएको उहाँले बताउनुभयो । भविष्यमा फार्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले बताउनुभयो । 

उहाँको फार्ममा माउ बङ्गुर १३, भाले बङ्गुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० वटा छन् । दानापानी राम्रो खुवाउन सकियो भने आठदेखि महिनादेखि एक वर्षमा एक सय केजीसम्मको बङ्गुर हुने उहाँले बताउनुभयो । दानाको व्यवस्थापन गर्नसकेमा पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाललगायतलाई सङ्कलन गरेर दानाका रूपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने उहाँले बताउनुभयो ।  

महिनामा १० वटासम्म बङ्गुर बिक्री गर्ने उहाँको भनाइ छ । बङ्गुरको मासु पसलमा प्रतिकेजी ३५० रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो । बङ्गुरको मासु बजारमा पु¥याउन सकिएको छैन । मागअनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताउनुभयो । 

उहाँका १२ कक्षामा पढ्ने छोरा साजन विकले फुर्सदको समयमा सघाउनुहुन्छ । जिल्लामा बङ्गुर जोन कार्यक्रम सुरु भएसँगै खोर निर्माण, मासु पसल सुधार र आवश्यक परामर्श दिन थालेपछि किसान उत्साहित भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको बङ्गुर जोन कार्यक्रमले बङ्गुर पाल्ने किसानलाई खोर निर्माणमा अनुदान उपलब्ध गराउन  थालेको छ ।

गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार आठ सय रुपियाँ बङ्गुरपालक किसानलाई सहयोग गरिएको छ । खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न गोबर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बङ्गुर जोनका पशु प्राविधिक बलबहादुर वलीले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाभर ३५ वटा बङ्गुरका फार्म सूचीकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसान उत्साहित भएको र बङ्गुरपालन व्यवसायप्रति युवाको आकर्षण बढेको उहाँले बताउनुभयो । बजारको नजिक मङ्गलाघाट क्षेत्रमा मात्र ११ जना युवाले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् ।