• १२ साउन २०८१, शनिबार

दुईदिने काव्यगोष्ठी

blog

काठमाडौँ, जेठ १ गते । जेपी प्रतिष्ठान मैत्री सेवाश्रम तथा मित्रसेन दाहाल फाउन्डेसन र नेपाली लेखक सङ्घद्वारा संयुक्त रूपमा आयोजित विचार बहससहितको दुईदिने काव्यगोष्ठी सम्पन्न भएको छ । 

वैशाख २९ र ३० गते मैत्री सेवाश्रम, लप्सीफेदीमा आयोजित कार्यक्रममा पहिलो दिन लेखक तथा राजनीतिक विश्लेषक अरुण सुवेदीले ‘हाम्रो बाटो : हाम्रो गन्तव्य’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठको सभापतित्वमा आयोजित बहसमा मुलुकको वर्तमान आर्थिक अवस्थाका साथै नेपाली वाङ्मयमा पारेको प्रभावका बारेमा विचार मन्थन गरिएको हो । 

यसै गरी दोस्रो दिनको कार्यक्रममा मैत्री सेवाश्रमका संस्थापक समाजसेवी मित्रसेन दाहालको समाज सेवा, उहाँको साहित्यिक एवं सामाजिक व्यक्तित्व र कृतित्वमाथि परिचर्चा गरिएको थियो । वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा आश्रमको परिकल्पनादेखि वर्तमान अवस्थासम्मको जानकारी गराइएको थियो । 

दोस्रो सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको सभापतित्वमा काव्यगोष्ठी गरिएको थियो । गोष्ठीमा दुई दर्जनभन्दा बढी स्रष्टाले आआफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।