• १२ साउन २०८१, शनिबार

बालबालिकामा देखिने रेटिनोब्लास्टोमा कस्तो रोग हो ?

blog

काठमाडौं, जेठ २ गते। बालबालिकाको आँखाको नानीमा सेतो टीका देखियो भने हेलचेक्राइँ नगर्न आँखारोग विशेषज्ञ बताउँछन्।

आँखा क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार स्थापितले बालबालिकाको आँखाको नानीमा सेतो टीका देखिएमा क्यान्सर हुने सम्भावना भएकाले हेलचेक्राइँ नगर्न आग्रह गर्नुभयो। 

 पाँच वर्षमुनिका बालबालिकामा आँखाको डेढोपन, असामान्य रातोपन वा दृष्टि कम हुँदै गएको छ भने आँखाको क्यान्सरको लक्षण हुने सम्भावना हुने उहाँको भनाइ छ।  

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार १५ हजार नवजात शिशुमध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ। 

 रेटिनोब्लास्टोमा कस्तो रोग हो ? 

डा.राजकर्णिकारका अनुसार रोटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकामा देखापर्ने आँखाको क्यान्सर हो। रेटिनोब्लास्टोमा बालबालिकाको आँखाको भित्रीभाग (रेटिना)मा देखिने गर्छ। यो रोगको उपचार समयमा नै नभए बच्चाको आँखा गुम्नुका साथसाथै ज्यानै पनि जानसक्ने उहाँको भनाइ छ। विश्वमा यसको मृत्युदर विकासोन्मुख देशहरुमा ५० प्रतिशत र विकसित देशहरुमा पाँच प्रतिशत छ। 

डब्लुएचओको तथ्याङ्क अनुसार १५ हजार नवजात शिशुमध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ। 

बालबालिकाको आँखामा यस्तो रोग लागेमा आँखाको कालो भाग अर्थात् नानीमा सेतो टीका देखिने, आँखामा टेढोपन देखिने, असामान्य रातोपन देखिने, दृष्टि कम हुने, आँखा आँखाको घरभन्दा बाहिर निस्कने, आँखामा मासु पलाउने जस्ता लक्षण देखिने उहाँको भनाइ छ। 

यो रोग पाँच वर्षमुनिका जुनसुकै बालबालिकामा लाग्ने सम्भावना हुन्छ। तर वंशाणुगत रोग भएकाले आमा बुबालाई यो रोग लागेको छ भने उहाँबाट जन्मिएका सन्तानमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ। रोग एकबाट अर्कोमा सर्ने सम्भावनासमेत हुने उहाँको भनाइ छ। 

यो रोग पत्ता लगाउन बच्चालाई बेहाेस बनाएर आँखाको जाँच गरिन्छ। उहाँ भन्नुहुन्छ, ‘बच्चालाई बेहाेस बनाएर आँखाको जाँच गरिन्छ। त्यो बाहेक आँखाको अल्ट्रासाउण्ड, आँखा र टाउँको सिटी स्क्यान, एमआरआई गर्न सकिन्छ। ’

समयमा नै रोग पत्ता लगाउन सकेमा पूर्णरुपमा निको बनाउन सकिने उहाँको भनाइ छ। रोग प्रवृद्धि हेरेर यो रोगको उपचार गरिन्छ। डा.राजकर्णिकारका अनुसार रोग लागेपछि किमोथेरापी, रेडियोथोरपी, थर्मोथेरापी, शल्यक्रियाको मध्यमबाट उपचार गरिन्छ। 

जटिल अवस्थामा पुगेका बिरामीको आँखाको शल्यक्रिया गर्न सकिन्छ।  क्यान्सर फैलिएको छ भने त्यो आँखा वरिपरिको भाग नै निकालेर फाल्नुपर्ने हुन्छ।

जटिल अवस्थामा पुगेका बिरामीको आँखाको शल्यक्रिया गर्न सकिन्छ।  क्यान्सर फैलिएको छ भने त्यो आँखा वरिपरिको भाग नै निकालेर फाल्नुपर्ने हुन्छ।

आँखाको डल्लो निकालेपछि प्यालाष्टिक वा सिसाको कृत्रिम आँखा हालेर आँखा जस्तै देखिने गरी बच्चालाई पुनःस्थापना गर्न सकिने उहाँले जानकारी दिनुभयो। 

यो रोगले दृष्टि गुम्नुका साथै ज्यानै जाने भएकाले रोग लागेको शङ्का लागे वा लक्षण देखिएमा ढिला नगरी तुरुन्त  आँखाको जाँच गर्नुपर्ने डाक्टरको सुझाव छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।