• १३ साउन २०८१, आइतबार

देवचुली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

blog

मीना कंडेल
कावासोती, वैशाख ३१ गते ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । 

पालिका खोप समन्वय समितिका संयोजक समेत रहनुभएका नगरप्रमुख न्यौपानेले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताउनुभयो । खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खोप तालिका अनुसार नगरका १७ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।”

देवचुली नगरपालिकामा १५ महिनाका आठ सय ७६ बालबालिका र १६ महिनादेखि ५९ महिनाका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो । सबैको प्रयासले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको प्रमुख श्रेष्ठले बताउनुभयो

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य स्वंयमसेविका लगायतले आगामी वर्षहरुमा पनि यस कार्यलाई निरन्तर राख्न प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभएको छ । नगरपालिकाको एक नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ वटा खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा भएको छ ।