• १२ साउन २०८१, शनिबार

अशुद्ध पानी वितरण गर्ने पानी उद्योगमा सिल, एक लाख ९० हजार जरिवाना

blog

उद्योगको अनुगमन गर्दै बाँके प्रशासनको नेतृत्वमा रहेको सरोकारवाला निकायको अनुगमन टोली । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, वैशाख ३१ गते । नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायको सहभागितामा आइतबार नेपालगन्जका विभिन्न उद्योग तथा व्यवसायमा स्थलगत अनुगमन गरेर कैफियत पाइएका उद्योग तथा व्यवसायलाई कारबाहीस्वरुप जरिवानासमेत गरिएको बाँके प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले नेपालगन्जका छ वटा उद्योग तथा व्यवसायमा स्थलगत अनुगमन गर्दा चार वटा उद्योग तथा व्यवसायले उपभोक्ताको हितविपरीत कार्य गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिनुभयो ।

निमित्त प्रजिअ माझीका अनुसार नेपालगन्जको कारकाँदो क्षेत्रमा सञ्चालनमा रहेको जय बागेश्वरी ड्रिकिङ्ग वाटर उद्योगले व्यवस्थित रुपले मापदण्डअनुसार उद्योग सञ्चालन नगरेको पाइएकाले तत्काल कारबाही स्वरुप २० हजार रुपियाँ जरिवाना गरिनुका साथै उद्योग सिल गरिएको छ । उक्त उद्योगबाट प्रयोग नहुने अवस्थामा रहेका २३ थान पानीका जारसमेत नष्ट गरिएको छ ।

त्यसै गरी नेपालगन्जको खजुरा रोड क्षेत्रमा सञ्चालनमा रहेको जय श्रीराम आइस उद्योगले बिल बिजक बिना कारोबार गरेको पाइएको हुँदा उद्योगलाई २० हजार रुपियाँ जरिवाना गरिएको र उद्योगमा मापदण्डअनुसार सरसफाइ नगरेसम्मका लागि उद्योग सञ्चालनमा रोक लगाइएको निमित्त प्रजिअ माझीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमै सञ्चालनमा रहेको शान्ति खाद्य उद्योगले सम्बन्धित निकायबाट उद्योग सञ्चालन इजाजत नलिई उद्योग सञ्चालन गरेको पाइएकाले ५० हजार रुपियाँ जरिवाना गरिएको र खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

खजरारोड क्षेत्रमै रहेको शाह डिष्ट्रिब्युटर्स एन्ड सप्लायर्सले मूल्यसूची नराखी कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप एक लाख रुपियाँ जरिवाना गरिएको निमित्त प्रजिअ माझीले जानकारी दिनुभयो । अनुगमन गरिएका अन्य दुई वटा खाद्य उद्योगको अवस्था सामान्य पाइएको उहाँले जानकारी दिनुभयो । बाँके प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिएको छ ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।