• १२ साउन २०८१, शनिबार

कांग्रेसप्रति ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै । तस्बिर :वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर, वैशाख ३० गते । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसप्रति आफू कहिल्यै ‘नेगेटिभ’ नभएको स्पष्ट पार्नुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पनि आफूलाई ‘नेगेटिभ’ सोच्न पर्ने कारण नभएको बताउनुभयो ।

“अघिल्लो पटक समीकरण ब्रेक हुनुमा कांग्रेसलाई राष्ट्रपति दिऊ र शक्ति बाँडफाँट गरौँ भन्दा नमिलेकै हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कांग्रेससँग सहमतिको वातावरण बनाउन म जहिले पनि लागि रहेको छु । तपाईँहरूले बुझ्नु भएकै होला ।”

उहाँले सरकारको नीति तथा कार्यक्रम कांग्रेससँगको सहकार्यमै राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आएर वाचन गर्नुहुने जानकारी दिनुभयो । 

“समझदारीमै राष्ट्रपतिको सम्बोधन आउँछ । यदि समझदारी भएन भने पनि राष्ट्रपतिको सम्बोधन कांग्रेसले रोक्दैन ।  कांग्रेस संवैधानिक संस्कार बुझेको पार्टी हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सरकारले मङ्गलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ । कांग्रेसले पछिल्लो समय संसदमा गतिरोध गरिरहेका कारण नीति तथा कार्यक्रममा आशङ्का उठी रहेका बेला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्रीले आजै मात्र पनि राष्ट्रपति पौडेल र कांग्रेस नेताहरूलाई भेटेर चितवन आउनु भएको हो । 

उहाँले सहकारीहरूमा देखिएको समस्या अध्ययनका लागि सोमबार वा मङ्गलबार संवैधानिक समिति गठन हुने कुरामा कांग्रेससँग सहमति हुने पनि बताउनुभयो । उहाँले सहकारी ठगी प्रकरणमा फरार जीवी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको आरोपको पनि खण्डन गर्नुभयो ।

“कुतर्क कसैले पनि गर्न हुँदैन । जीवी राईलाई पक्राउ गर्न राहदानीका कारण समस्या भएको हो  । उसलाई ल्याउने तयारी भइरहेको छ”, उहाँको स्पष्ट जवाफ थियो, “अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु कुतर्क हो ।”