• १२ साउन २०८१, शनिबार

सप्तरीमा ८० हजार बालबालिकाले लगाए टाइफाइडविरुद्धको खोप

blog

फाइल फोटो

माला कर्ण
कल्याणपुर, वैशाख ९ गते  ।
सप्तरीका ८० हजार बालबालिकाले पहिलो चरणमा टाइफाइडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पहिलो चरणमा चैत २६ देखि ३० गतेसम्म ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका हुन् ।

जिल्लाका डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बोदेबरसाइन नगरपालिका, सुरु नगरपालिका, विष्णुपुर गाउँपालिका, खडक नगरपालिका, बलाम विहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकामा पहिलो चरणमा टाइफाइडविरुद्धको खाप अभियान सञ्चालन भएको थियो ।

दोस्रो चरण कन्चनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउाँपालिका, तिरहु गाउँपालिका, तिलाठीकोइलाडी गाउँपालिका, महादेवा गाउँपालका र रुपनी गाउँपालिकामा खोप अभियान सञ्चालन भएको छ । दोस्रो चरणको खोप अभियान वैशाख ४ देखि ८ गतेसम्म सञ्चालन भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयले दुई चरणमा सम्पन्न भएको खोप अभियनमा कति बालबालिकाले टाइफाइटविरुद्धको खोप लगाए भन्ने तथ्याङ्क प्राप्त भइनसकेको जनाएको छ । तर, जिल्लामा कुल एक लाख ८० हजार १४७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक हिरेन्द्र साहले लक्ष्य अनुसार खोप ल्याएर सञ्चालन गरेको र सो क्रममा खोप घटेपछि पुनः १० हजार खोप ल्याएर सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा माग भए बमोजिम दुवै चरणको लागि जम्मा एक लाख ९० हजार खोप लगाएको र त्यसमा एक–दुई हजार फिर्ता भएको छ । तर, जिल्लामा पूर्ण खोप लगाएको तथ्याङ्क आउन अझै चार–पाँच दिन लाग्ने उहाँले बताउनुभयो ।

उहाँले टाइफाइडको समस्या बढीमात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले खोप लगाइएको जानकारी दिनुभयो । दूषित खानेपानी र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढीमात्रामा बालबालिका प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।