• १७ असार २०८१, सोमबार

दैलेखमा कसैले बुझाएन्न इजाजतप्राप्त हातहतियार

blog

कमल शर्मा
दैलेख, वैशाख ९ गते ।
जिल्ला प्रशासन कार्यालय दैलेखले इजाजत प्राप्त हातहतियार कसैले पनि नबुझाएको जानकारी दिएको छ । प्रशासनले स्थानीय तह निर्वाचनलाई भयरहित बनाउनका लागि हतियार प्रहरीलाई बुझाउन गत चैत १८ शुक्रवार सुचना जारी गरे पनि  हालसम्म कसैले पनि हतियार नबुझाएको प्रशासनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी गणेशप्रसाद कोइरालाले इजाजत प्राप्त हात हतियार बुझाउन तोकता गरेको भए पनि कसैले पनि नबुझाएको बताउनुभयो । उहाँले प्रशासनले गरेको आग्रहलाई अस्वीकार गरी हातहतियार घरमा राखेको पाइएमा कानुन अनुसार कावारही हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘‘निर्वाचनलाई स्वच्छ र भएरहित बनाउन एकीकृत सुरक्षा रणनीति र निर्वाचन सामग्री ढुवानी कार्य र समयतालिकाको समेत निर्धारण गरिसकेको छ ।’’

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डीएसपी) भुवनेश्वरप्रसाद शाहले जिल्ला प्रशासनले परिपत्र गरे अनुसार जिल्लामा रहेका सबै प्रहरी युनिटलाई इजाजतप्राप्त हातहतियार बुझाउन गाउँगाउँमा सूचना पठाएको भए पनि कुनै पनि युनिटमा हतियार नबुझाएको बताउनुभयो । उहाँले निर्वाचन सम्पन्न भए पश्चात हातहतियार फिर्ता हुने गरी सूचना जारी गरे पनि हतियार फिर्ता नहुने डरले नबुझाएको आंशका गरेको बताउनुभयो । जिल्लामा कति हात हतियार इजाजत प्राप्त छन भन्ने विवरण प्रशासनमा उपलब्ध हुनसकेन ।