• २४ असार २०८१, सोमबार

सहकारीका सदस्यद्वारा सामूहिक तरकारी खेती

blog

सहकारीका सदस्यद्वारा सामूहिक तरकारी खेती ।

राजन रावत
हुम्ला, वैशाख ९ गते ।
सहकारीका सदस्यहरुले सामूहिक तरकारी खेती सुुरु गरेका छन् । आयआर्जनमा वृद्ध गर्न र स्वरोजगारी सिर्जना गर्न सहकारी संस्थाका सदस्यहरुले सामूहिक तरकारी खेती सुरु गरेका हुन् ।

खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँको दुधकण्ठ कृषि सहकारी संस्थाका अध्यक्ष रंगमित शाहीले आय आर्जनमा वृद्धि गर्न सहकारीका ३५ जना सदस्यहरु मिलेर सामूहिक तरकारी खेती गरिएको बताउनुुभयो ।

गत वर्षसम्म सदस्यहरुले व्यक्तिगत रुपमा तरकारी खेती गरिँदै आएकोमा यस वर्षबाट सामूहिक खेती सुुरु गर्नुभएको हो । उहाँले सदस्यहरुको आर्थिक वृद्धि गर्न र सहकारीको आम्दानी बढाउन यसरी खेती गरेकोले जानकारी दिनुभयो ।

उहाँले २४६ जना सदस्यमध्ये ३७ जना सदस्यहरु मिलेर ४० भन्दा बढी रोपनी जग्गामा तरकारी खेती गरेको बताउनुुभयो । कुुल तरकारी लगाएको जमिनमध्य २० रोपनीमा प्याज मात्र खेती लगाइएको छ ।

तरकारी खेतीमा संलग्न सहकारीका सदस्य किसान अदान रावलले आम्दानीको श्रोत बढाउन सदस्यहरुको सामूहिक निर्णयबाट तरकारी खेती गरिएको बताउनुुभयो । उहाँले यसअघि थोरै जग्गामा तरकारी खेती गरेर पनि आम्दानी हुन थालेपछि किसानहरु तरकारी खेतीमा आर्कषण हुने गरेको बताउनुुभयो । किसानहरुले आफ्नै जग्गामा सो खेती सुुरु गर्नुभएको हो । उत्पादित तरकारीको लागि बजारको समस्या नभएको कारण पनि किसानको तरकारी खेतीमा आकर्षण बढेको हो ।

तरकारी खेतीका लागि गुड नेवर्स इन्टरनेस्नल नेपाल र स्थानीय सहयोगी संस्था स्नोल्याण्ड एकीकृत विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग यसअघि किसानका लागि रहँदै आएकोमा यसवर्षबाट भने किसानले आफ्नै लगानीमा सो खेती सुुरु गर्नुभएको हो । केन्द्रका प्राविधिक जंगबहादुुर शाहीले हाल किसानले सामूहिक तरकारी खेती गरी रहेको क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बताउनुुभयो । यसवर्ष किसानका लागि क्षेमता विकासका कार्यक्रम भने संस्थाले सञ्चालन गर्दै आएको छ । गतवर्ष सोही सहकारी संस्थाका सदस्यहरुले २५ लाखको मात्र प्याज खेती गरेर आम्दानी गर्नुभएको थियो ।