• १२ पुस २०८१, शुक्रबार

लोकसाहित्यको सङ्ग्रहणीय कृति

blog

काली–कर्णाली परिवेशको सिङ्गो लोकसंस्कृति र लोकसाहित्यको प्रतिविम्ब ग्रन्थभित्र पाइन्छ । तत्तत् क्षेत्रको लोकसंस्कृतिको र साहित्यको अद्यावधिक अभिलेखन पनि हो भन्ने कुरा यस ग्रन्थमा सङ्कलित, वर्णित र विवेचित विषयवस्तुबाट नै स्पष्ट हुन्छ ।

‘राईझुमा झुमा क्या मस्किक्याँकी छ ओ राईझुमा’ प्रत्येक नेपालीका अझ कर्णाली र सुदूरपश्चिमेलीहरूका ओठओठमा झुन्डिएको यस डेउडा गीतका शब्द र स्वर प्रसिद्ध गायक, कलाकार, कवि एवं अनुसन्धाता यज्ञराज उपाध्यायका हुनुहुन्छ । उहाँलाई कविका रूपमा र अनुसन्धाताका रूपमा केही विशिष्ट व्यक्तिले मात्र चिन्छन् तर राईझुमाका शब्द र स्वरमा उपस्थित व्यक्तित्वलाई भने सबैले चिन्छन् । उपाध्यायको पछिल्लो व्यक्तित्व लोकसाहित्य र संस्कृतिका अनुसन्धाताका रूपमा परिचय बनेको छ ।

बुक हिल पब्लिकेसनबाट प्रकाशित उहाँको ‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’  (२०८०) महाकाली–कर्णाली प्रस्रवण क्षेत्रको लोकसाहित्य र संस्कृतिका बारेमा गहन अनुसन्धान गरेर तयार पारिएको भीमकाय कृति हो । लेखकीयमा व्यक्त भएका उहाँको अभिव्यक्तिका अनुसार २५ वर्षसम्मको निरन्तर खोज तथा अनुसन्धानबाट ९४३ पृष्ठ  (अग्रभागसहित ९७९ पृष्ठ) को यो बृहत् ग्रन्थ तयार भएको छ । यो ग्रन्थ महाकालीदेखि कर्णालीसम्मको अर्थात् महाकाली–कर्णाली प्रस्रवण क्षेत्रको लोकसाहित्य र संस्कृतिको ऐतिहासिक दस्ताबेज हो ।

प्रस्तुत ग्रन्थको आकारप्रकार, सङ्कलित सामग्रीहरूको व्यवस्थापन, वर्गीकरण, विवेचना, परिचय आदिका दृष्टिले यस कृतिलाई महाकाली–कर्णाली प्रस्रवण क्षेत्रका लोकसाहित्य र संस्कृतिको मानक ग्रन्थका रूपमा मान्न सकिने आधारहरू यसमा सङ्कलित सामग्रीहरूले नै स्पष्ट पार्छ । संरचनात्मक दृष्टिले हेर्दा यसमा औपचारिक शोधग्रन्थ जस्तो परिच्छेद विभाजनको कुशल व्यवस्थापन र तोकिएको वा निर्दिष्ट परिच्छेद विभाजन नदेखिए पनि शीर्षक–उपशीर्षक र सहायक शीर्षकहरूको सङ्ख्याङ्कका दृष्टिले ६० भन्दा बढी परिच्छेदको संरचनागत खाका यसमा देख्न सकिन्छ । यी परिच्छेदभित्रका ७५० भन्दा बढी शीर्षक, उपशीर्षक, सहायक शीर्षक र पाठ शीर्षकहरूमा व्यवस्थापन गरिएको यस ग्रन्थभित्र काली–कर्णाली परिवेशको सिङ्गो लोकसंस्कृति र लोकसाहित्यको प्रतिविम्ब पाइन्छ । यो ग्रन्थ तत्तत् क्षेत्रको लोकसंस्कृतिको र साहित्यको अद्यावधिक अभिलेखन पनि हो भन्ने कुरा यस ग्रन्थमा सङ्कलित, वर्णित र विवेचित विषयवस्तुबाट नै स्पष्ट हुन्छ ।

‘काली–कर्णाली क्षेत्र’ मूल शीर्षक काली–कर्णालीको परिचयमा केन्द्रित छ र त्यहाँको लोकजीवनलाई मूल विषय बनाएर विवेचना गरिएको छ । यस क्रममा त्यहाँका भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, गाउँबस्ती, जातजाति, रहनसहन, वेशभूषा, खानपान, चालचलन, धर्म र संस्कृति, चाडपर्व, भाषा आदिबारे विवेचना गरिएको छ । ‘लोकसाहित्य’ मूलशीर्षकभित्र लोकसाहित्यको विधागत परिचय प्रस्तुत गरिएको छ । त्यस्तै 

‘लोकगीत’ मूलशीर्षक अन्तर्गतका २१ वटा उपशीर्षकमा सैद्धान्तिक रूपमा लोकगीतको विवेचना गरिएको छ र यो शीर्षक सैद्धान्तिक निरूपणका दृष्टिले उल्लेखनीय रहेको छ । नेपाली लोकगीत र गायन परम्पराको ऐतिहासिक विकासक्रमको दिग्दर्शन पनि प्रस्तुत गरिएको छ र यो खण्ड ऐतिहासिक विकास प्रक्रियाको विवेचनाका दृष्टिले उल्लेखनीय देखिन्छ । यसै खण्डमा लोकवार्ता र लोकसंस्कृतिको परिचयात्मक रूपरेखाका साथ काली–कर्णालीको लोकसाहित्य र लोकगीतको पृथक् परिचय पनि राम्रोसँग दिइएको छ । खास गरेर काली–कर्णाली क्षेत्रका लोकगीतको गायन परम्पराको विकासक्रम प्रस्तुत गर्दै तिनमा लोक गायकको भूमिकाका बारेमा पनि विवेचना गरिएको छ । यसबाट यो ग्रन्थ लोकसाहित्यको ऐतिहासिक विकास प्रक्रियाको अभिलेखनका दृष्टिले पनि उल्लेखनीय रहेको छ । 

लोकगीतलाई लोकसाङ्गीतिक कोणबाट विवेचना गर्नु पनि यस ग्रन्थको महत्त्वपूर्ण विशेषता हो । यसै आधारमा ताल, चाल र स्वरका दृष्टिले लोकगीतका प्रभेदहरूको निरूपण यस ग्रन्थमा भएको छ । यसै सन्दर्भमा काली–कर्णालीका लोकगीतलाई तालप्रधान, चालप्रधान र स्वरप्रधानका रूपमा वर्गीकरण गरी तिनको सूत्रबद्ध संरचना, सचित्र विवेचना र प्रत्येक लोकगीतका मूल पूर्णपाठलाई पनि प्रस्तुत गरिएको छ । लोकगीतको साङ्गीतिक प्रविधि र सङ्गीत सिद्धान्तका आधारमा समेत लोकगीतको विवेचना गर्नु यस ग्रन्थको अर्को विशिष्ट पक्ष हो । यस ग्रन्थमा सबैभन्दा व्याप्ति लोकगीतले लिएको छ र सुदूरपश्चिम क्षेत्र र कर्णाली क्षेत्र लोकसाहित्य र संस्कृतिका दृष्टिले सम्पन्न रहेको कुरा पनि यहाँ देखाइएको छ । लोकसाहित्यमा मूल पाठलाई महìवका साथ हेरिन्छ र यस्ता पाठको सङ्कलन कठिन र चुनौतीपूर्ण पनि हुन्छ । गायक वा वाचकले गाउन र वाचन गर्न गाह्रो मान्ने, पैसा नदिई गायन, वाचन नगर्ने र अझ त्यसमा पनि बढ्दो सहरीकरणका कारण गायक वाचक पाउनै मुस्किल हुने परिस्थितिमा पनि यति धेरै पाठको सङ्कलन गर्नु लेखकको यस कामप्रतिका लगन र निष्ठा हो । तिनको वर्गीकरण र सङ्क्षिप्त विश्लेषणसमेत गरिएकाले लेखकको परिश्रम प्रशंसनीय देखिन्छ । पाठहरूको व्यवस्थित सङ्कलन र तिनको सत्यापन गरेर विश्वसनीय बनाउने काम पनि ग्रन्थकार उपाध्यायले गर्नुभएको छ ।

यस ग्रन्थमा काली–कर्णालीका प्रस्रवण क्षेत्रका सयौँ लोकगीतको परिचय, प्रकार र मूलपाठ एवं तिनको विवेचना पनि प्रस्तुत गरिएको छ । न्याउल्या गीत (डेउडा)को उत्पत्ति, चिनारी, गायनपद्धति, खेलविधि र तिनका प्रकार, रनपुतला गीतको परम्परा, थालनी, नृत्य र गायनपद्धति तथा तिनका अनेक प्रकार, होरीगीतको परिचय, विकासक्रम, छन्द र लय, गायन तथा नृत्यपरम्परा तथा शिवस्तुति, रामलीला, कृष्णलीला आदिसँग सम्बद्ध १३४ वटा भेद र तिनका मूलपाठ आदिको चर्चाका साथै प्रेम–उमङ्ग, राष्ट्रप्रेम र बुद्ध अवतार वर्णनसँग सम्बद्ध गीतका २७ वटा भेद, देउडा र डेउडामा भिन्नता, धमारी गीतको परिचय, परम्परा र तिनका ३३ भेद, गौराको परिचय, उत्पत्ति, अनुष्ठान विधि आदिसँग सम्बद्ध विभिन्न प्रकारका ४० जति भेद, गौरापर्वको धार्मिक सांस्कृतिक महìव आदिका बारेमा पनि यस ग्रन्थमा पर्याप्त सूचना दिइएको छ । यी सूचनाहरू कोरा सूचना मात्र होइनन्, नेपाली लोकसंस्कृति र साहित्यका अमूर्त सम्पदा पनि हुन् । यस्ता सम्पदाहरूको सङ्कलन–संरक्षणका दृष्टिले पनि यस ग्रन्थको बढी उपादेयता देखिन्छ ।

प्रस्तुत ग्रन्थमा सुदूरपश्चिमका गीत तथा गाथामध्ये भुओको पृष्ठभूमि, उत्पत्ति, विकास र तिनका १३ वटा भेद, सगुन र फागको परिचय, गायनपद्धति, विषयवस्तु, अन्तरसम्बन्ध आदिका साथै सगुन र फागका १४ वटा भेद, चाँचरीको परिचय, गायन र नृत्यविधि र तिनका पाँच वटा भेद, छलिया, भारी खेल, ठाडोखेल, भैनी, ढुस्को, जिउनापुरी, सवाइ, भोलाउलो आदिको गायन, नृत्यविधि र तिनका भेदहरू आदि पनि यस ग्रन्थका विषय बनेका छन् । त्यस्तै पडेली, चैत, झोडा, मागल, बाह्रमासागीत, पर्छो, भैलो, भजन, डाड–झङ्कार, हुड्केली, गोरीधानाको चैतालो आदि लोकगीत तथा लोकगाथाका उत्पत्ति, विकास, गायन र नृत्यविधि एवं तत्सम्बन्धी गीत र गाथाको पूर्ण मूलपाठ एवं परिचयसमेत दिइएकाले ग्रन्थ उपयोगी बनेको छ । 

लोपोन्मुख हुन लागेको जिउँती–परम्पराको परिचय, थालनी, स्थान, अवसर, चित्र आदि विषयको प्रस्तुतिले यो ग्रन्थ विशेष बनेको छ भने बालो खेलाउने गीत, रम्कीरम्मा झम्मबिरु गीत, सोभान शाहीको विलाप, श्रीपञ्चमी गीत, सन्ज्यावली, बाली सन्जाको गीत, झुराउनी आदि पनि यस पुस्तकमा विशेष चर्चाका साथ आएका छन् । यी र यस्तै सामग्रीहरूले यो ग्रन्थ सङ्ग्रहणीय बनेको छ । प्रस्तुत ग्रन्थका आठ सयभन्दा बढी पृष्ठ कर्णाली–महाकाली प्रस्रवण क्षेत्रका लोकसंस्कृतिसँग सम्बद्ध लोकसाहित्यिक सामग्रीले ओगटेका हुनाले यी विषयको व्याप्ति बढी देखिन्छ भने त्यसपछिका करिब सय पृष्ठ विशुद्ध लोकसंस्कृतिसँग सम्बद्ध विषयवस्तुको चर्चामा केन्द्रित छन् ।

समग्रमा भन्नुपर्दा लोकसाहित्य र संस्कृतिमा रुचि राख्नेदेखि विशिष्ट बौद्धिक पाठकसम्मका लागि यो ग्रन्थ महत्त्वपूर्ण र उपयोगी देखिन्छ । नेपालको काली–कर्णालीको लोकसाहित्य र संस्कृतिमाथिको सामान्य विचरण होइन, गम्भीर अनुशीलन हो भन्ने कुरा यसभित्रका सामग्रीहरूले स्पष्ट पार्छन् । नेपाल चिन्न, अझ काली–कर्णालीभित्रको नेपाल बुझ्न नेपाली लोकसंस्कृति र लोकसाहित्य चिन्नु पर्छ र त्यसको मर्म छाम्नु पर्छ भन्ने सन्देशका कोणबाट यस ग्रन्थलाई हेर्न र पढ्न सकियो भने कृति पठनको अझ गहिरो सार्थकता भेटिन्छ । नेपाली लोकसंस्कृति र लोकसाहित्यमा रुचि राख्ने जोसुकैका लागि पनि यो ग्रन्थ पठनीय, मननीय र सङ्ग्रहणीय देखिन्छ । 

Author

ज्ञानु अधिकारी