• ७ जेठ २०८१, सोमबार

बाल सुधारगृह र कारागार कार्यालयको अनुगमन

blog

नौबस्ता बाल सुधारगृह र कारागारको अनुगमनपछि अधिकारकर्मीको टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २८ गते । नेपाल बार एशोसियसनमा आबद्ध कानुन व्यवसायी र अधिकारकर्मीले बाँकेको नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् । 

एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वपसन्त गौतम, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्रबहादुर शाही, बाँके जिल्ला बारका अध्यक्ष महेरसिंह खत्री र अधिवक्ता वीरेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा बालसुधार गृह र कारागारमा पुगेर त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको छ । अनुगमनका क्रममा बालसुधार गृह नौबस्तामा हाल १०५ जना बालबन्दी रहेकोमा सुधार गृहको सि ब्लकमा २१ जना र ए ब्लकमा ८४ जना बालकहरूलाई राखिएको पाइएको एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । 

गत पुस १३ देखि १५ सम्म डुडुवाको जयन्दु बालसुधार गृहमा भएको आन्तरिक झडप र कुटपिटको घटना पश्चात २१ जनालाई नौबस्तामा अलग्गै राखिएको छ । नौवस्तामा बाल सुधारगृहसँगै कारागार कार्यालय पनि सञ्चालनमा आएपछि ती २१ जनालाई फेरि अरु बालकहरूसँगै राखिने जानकारी पाएपछि उनीहरुमा फेरी त्रास उत्पन्न भएको र उनिहरुले आफूहरुलाई छुट्टै राख्न माग गरेको अधिवक्ता गौतमले बताउनुभयो । 

छुट्टै राखिएका बालबन्दीलाई फेरी एकै ठाउँमा राख्न लागिएकोमा बिगतको घटना फेरि दोहोरिने र मारपिट हुन सक्ने त्रासमा अधिकांश बालबन्दी रहेको पाइएको नेपालगन्ज उच्च बारका अध्यक्ष चित्रबहादुर शाहीले बताउनुभयो । छुट्टै राखिएका २१ बालबन्दीले अधिकारकर्मी समक्ष आफूहरूलाई पहिले झगडा परेका अर्को ब्लकमा रहेका बालबन्दीसँगै मिसाउनबाट रोक्न अनुरोध गरेको शाहीले बताउनुभयो । 

ती बालबन्दीले अधिकारकर्मी समक्ष बरु अन्य बालसुधार गृह पठाइयोस तर विवाद भएको पुरानो ब्लकमा नपठाइयोस भन्दै आफूलाई ज्यानको खतरा रहेको बताएका थिए । 

बारका पदाधिकारी र अधिकारकर्मीको टोलीले बालसुधार गृहको पछिल्लो अवस्थाका बारेमा सुधारगृह प्रमुख श्यामबहादुर रानासँग विभिन्न विषयमा छलफल गरेको थियो । 

सो क्रममा सुधार गृह प्रमुख रानाले बालसुधार गृह नौबस्तामा भएको घटनाका सम्बन्धमा चलाइएको कारागार ऐन अन्तर्गतको मुद्दा फैसलामा भएको ढिलाईले उक्त मुद्दाको आरोपी केही बालबन्दी कारागार चलान भएको, आपसी झडप र कुटपिटका कारण छुट्टै राखिएका बालबन्दीलाई नौवस्तामा कारागार कार्यालय स्थापना भएसँगै फेरि सँगै राख्ने कुराले त्रसित भएको, नेपालगन्ज मेडिकल कलेजले जिल्ला बालन्याय समन्वय समितिसमक्ष गरेको सम्झौता बमोजिम सुधारगृहमा रहेका बालकहरूको स्वास्थ्य उपचार गरेको नपाइएको, बालसुधार गृह नौबस्ता स्थापना कालदेखि मनोविमर्शकर्ता र मनोचिकित्सकको ब्यवस्था हुन नसकेको, बालबन्दीका लागी सिपमूलक, ज्ञानवर्धक सुधार र शिक्षाका कार्यक्रमहरू सञ्चालन हुन नसकेको बारेमा जानकारी गराउनुभयो । 

अनुगमनका क्रममा कारागार कार्यालय र बालसुधार गृहको कार्यालय भवन अलग अलग हुनु पनेर्मासँगै एउटै भवनमा सञ्चालन भएको पाइएको अधिकारकर्मीले बताएका छन् ।