• १६ चैत २०८०, शुक्रबार

स्ट्रारिपरको प्रयोगपछि खेतमा आगो लगाउने चलनमा कमी

blog

कपिलबस्तु नगरपालिका– ६ थुम्हवामा स्ट्रारिपर मेसिनले गँहुको ठुटोलाई काटेर भुस संकलन गर्दै । तस्विर – नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, वैशाख ९ गते । कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेशिन) को प्रयोग बढ्दै गएको छ । विगत वर्षहरुमा कम्बाईन मेसिनले गहुँ र धान चुटेपछि बाँकी रहेका ठुटाहरुलाई खेतमै छाडिने गरिथ्यो । त्यही ठुटाहरुलाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो । तर एक वर्ष यता भने स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेको गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ ।

कम्बाईको प्रयोग विगत १० वर्ष यता बढ्दै आएको छ । स्ट्रारिफरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । 

‘कम्बाईको प्रयोग कपिलवस्तुमा एक दशक यता बढ्दै आएको छ एक वर्ष यता भने स्ट्रारिपरको प्रयोग कपिलवस्तुमा बढेको छ’ उहाँले भन्नुभयो । उहाँले जिल्लामा दुई सयको हारहारीमा स्ट्रारिपर मेसिन भित्रिएको बताउनुभयो ।

विगत वर्षहरुमा कम्बाईनले गहुँ र धान काटेपछि बाँकी रहेको आधा ठुटालाई कृषकहरुले खेत सफा गर्ने नाममा आगो लगाउने चलन थियो । तर स्ट्रारिपरको प्रयोग भएपछि जिल्लामा त्यस्तो प्रचलन घटेको छ ।

‘खेतमा आगो लगाउँदा मित्र जीवहरु नाश हुने गरेको थियो, माटोको उर्वराशक्ति समेत घटेको थियो’ प्रमुख चौबेले भन्नुभयो ‘स्ट्रारिपरको प्रयोग भएपछि कृषकहरुलाई धेरै फाइदा पुगेको छ ।’ गत चैतदेखि वैशाखको यता खेत खेतमामा स्ट्रारिपरले गहुँको ठुटाहरुलाई काटेर भुस सङ्कलन गर्दै आएका छन् । 

कपिलवस्तु नगरपालिका – ६ थुम्हवाका कृषक जयप्रकाश कुर्मी आफूले ५ लाख मूल्यमा स्ट्रारिपर मेसिन किनेर चैतको सुरुवातदेखि नै भुस सङ्कलन गर्दै आएको बताउनुभयो । उहाँले अहिले स्ट्रारिपर मेशीनलाई खेतमा भुस सङ्कलन गर्न भ्याई नभ्याई रहेको बताउनुभयो । भुस काटेवापत आफूहरुले खेत धनीहरुलाई एक ट्रालीको डेढ सयदेखि दुई सय रुपियाँ दिने गरेको उहाँले बताउनुभयो ।

एक ट्राली भुसको तीन हजार देखि तीन हजार पाँच सयमा विक्री गर्ने गरेको कृषक चौधरीले बताउनुभयो । एक ट्राली भुस सङ्कलन गर्दा कम्बाईने काट्न छाडेका ३० देखि ३५ किलोसम्म गहुँका दानासमेत सङ्कलन हुने गरेको उहाँको भनाइ छ । 

जिल्लामा स्ट्रारिपर भित्रिएपछि कृषकहरुलाई निकै सजिलो भएको कृषक सङ्घका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । ‘स्ट्रारिपर मेसिन कृषकहरुका लागि बरदान नै भएको छ ’ उहाँले भन्नुभयो ‘स्ट्रारिपर नहुँदासम्म जिल्लाका अधिकांश कृषकहरुले खेतमा आगाले लगाउने गर्थे तर एक वर्ष यता भने त्यही खेतमा रहेको ठुटा बापतको डेढदेखि दुई सय रुपियाँ रकम पाउने गरेका छन् ।’  उहाँले स्ट्रारिपर मेसिन पर्यावरणमैत्री बनेको बताउनुभयो ।

स्ट्रारिपर मेसिनले गर्दा पशुपालक कृषकहरुलाई निकै फाइदा पुग्ने भएकाले पशुपालन  फस्टाउने उहाँले बताउनुभयो । खेतमा आगो लगाउन छाडिएकाले खेतको उर्वराशक्तिमा यसले टेवा दिने गरेको छ ।