• ६ जेठ २०८१, आइतबार

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

blog

फाइल तस्बिर

तम्घास (गुल्मी), वैशाख २६ गते । गुल्मीको इस्मा गाउँपालिका-२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो । 

त्यसमा विद्यार्थी एवम् शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धी तालिम गराइएको थियो । कालिका मानविज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश ओलीले दुई दिनसम्म व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी एवम् एक दिन अभिभावक, व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणा तालिम दिनुभएको थियो । तालिमको अन्तिम दिन विद्यार्थीहरूले आफ्ना अभिभावकलाई टीका र माला लगाएर सम्मान गरेका थिए । 

नेपाली संस्कृतिअनुसार अभिभावकलाई छात्रहरूले ढोग र छात्राहरूले नमस्कारले सम्मान गरेका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले पछिल्लो समय विद्यालय परिवार शैक्षिक गुणस्तर सुधार्न लागिपरेको बताउनुभयो । “तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलगायत धेरै विषयमा जानकारी प्राप्त भएको छ”, प्रधानाध्यापक खत्रीले भन्नुभयो, “सबै कक्षामा शतप्रतिशत नजिता ल्याउन र विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।” 

शिक्षकले मात्र विद्यालयको गुणस्तर सुधार्न नसकिने भएकाले अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिलाई थप जिम्मेवारी बनाउन उत्प्रेरणा तालिमको आयोजना गरिएको प्रधानाध्यापक खत्रीले बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो । आफूहरू सिङ्गो पालिकाको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै त्यसमा पालुखा माविले अग्रता देखाएकामा विद्यालयलाई धन्यवाद दिनुभयो । रासस