• ६ जेठ २०८१, आइतबार

सिंचाइको सुविधा नहुँदा सिमेभूमिसँग पानी माग्दै कृषक

blog

भूमे गाउँपालिका–२ का बासिन्दाले जल सिमेभूमिसँग पानी माग्दै ।

जयमान बुढा मगर

रुकुमपूर्व, वैशाख २५ गते । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकले खडेरी परेपछि सिमेभूमि देवतालाई पूजा गर्दै पानी मागेका छन् । बर्खे बाली लगाउने समय हुँदासम्म पानी नपरेपछि सिंचाइ सुविधा  नहुँदा कृषकले सिमेभूमिसँग आकाशेपानी मागेका हुन् । 

आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका रुकुमपूर्वका कृषकले खडेरीमा आकाशेपानी माग्ने पुस्तौंदेखिको चलन कायमै छ । यस जिल्लाको मुख्य कृषि बाली मकै, आलुलगायत बाली लगाउने समय भएको छ । तर आकाशे पानी नपरेपछि हालसम्म पनि बाली लगाउने काम रोकिएको भूमे गाउँपालिका–२ काँक्रीका मदन रोका मगरले बताउनुभयो। सिंचाइ सुविधा नभएकाले लामो समयसम्म खडेरी भएपछि स्थानीयले परम्परा चलन अनुसार आकाशेपानी मागेको रोका मगरले सुनाउनुभयो । 

परम्परादेखि खडेरीको बेला बेंसीबाट सुरु गरी उच्च भेगको पानीको मुहानसम्म पुगेर नाचगान तथा होहल्ला गरेर फर्किने गर्ने गरेका छन् । साथै जल सिमेभूमि देवतालाई पूजा गर्ने गरिएको रोका मगरको भनाइ छ । यसरी जल सिमेभूमि देवताको पूजा गरी पानीको मुलमा होहल्ला गरिदिँदा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास छ । 

खडेरी भएपछि बाजागाजासहित होहल्ला र मूलपानीमा सिमेभूमि देवताको पूजा गरेपछि वर्षा हुने जनविश्वास राख्दै आइएको भूमे गाउँपालिका–३ क्याङ्सीका तिलकबहादुर रोका मगरले बताउनुभयो । जिल्लाको तीन स्थानीयमध्ये पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका बासिन्दाले लामो समयसम्म पानी नपरेपछि पानीको मूलमा पुगी पूजाआजा गरी आकाशेपानी माग्ने गरिराखेको रोका मगरले जानकारी दिनुभयो । 

रोका मगरले भन्नुभयो, “यो भन्दा अगाडि भने पानी माग्दा पानी पर्ने गरेको कुरा सुन्नका थियौँ ।” अब आलु र मकै रोप्ने समय भएकोले आकाशेपानी नपरेपछि कृषक चिन्तित भएका छन् । सरकारले सिंचाइ सुविधा तर्फ ध्यान नदिएको कृषकहरूले गुनासो गरेका छन् ।