• ६ जेठ २०८१, आइतबार

सगरमाथा क्षेत्रमा हिमपात

blog

काठमाडौँ, वैशाख २५ गते । आइतबार साँझदेखि सगरमाथा क्षेत्रमा हिउँ पर्न थालेको छ । वर्षाको प्रणाली भित्रिएसँगै सगरमाथा र आसपासका हिमाली क्षेत्रमा हिमपात भइरहेको सगरमाथा आधार शिविरमा रहेको पिरामिड प्रयोगशालाले जानकारी दिएको छ ।

प्रयोगशालाका व्यवस्थापक काजी विष्टले भन्नुभयो, “आइतबार दिउँसोसम्म घाम लाग्यो । साँझदेखि हिउँ पर्दै रोकिँदै, फेरि हिउँ पर्दै गर्ने क्रम जारी छ ।” सो प्रयोगशालामा मौसम स्टेसन रहेकाले आसपासको मौसमी अवस्थाको विश्लेषण भइरहेको उहाँले बताउनुभयो ।  

हिउँ पर्न थालेपछि चिसो बढेकाले सगरमाथा आरोहीसमेत आधार शिविर आसपास रोकिएका छन् । हिमाली र पहाडी भेगमा मेघगर्जनसहितको चट्याङ परिरहेकाले सतर्क रहन मौसमविद्ले सावधानी गराएका छन् । अचाक्ली गर्मी र प्रदूषण बढ्दा सगरमाथा क्षेत्रमा पनि त्यसको असरले मौसम तातिन थालेको थियो । 

देशका विभिन्न भेगमा भने पूर्वमनसुन (प्रिमनसुन) को हल्का वर्षा सुरु भएपछि गर्मीमा थोरै राहत पुगेको छ । लामो समयको खडेरी भुलाउने गरी भने हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । लामो खडेरी, डढेलो र त्यसपछिको तुवाँलोका कारण देशका अधिकांश भूभाग धूमिल भएको थियो । जसका कारण वायु प्रदूषण बढेर मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको थियो । वर्षाले प्रदूषण कम गराउँदा वायुको गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको वातावरण विभागले जनाएको छ । 

पश्चिमी वायु, स्थानीय वायु र भारतको आसपास निर्मित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भेगमा आइतबार साँझदेखि वर्षा हुन सुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा हुने छ । 

त्यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । तराईको मधेश र लुम्बिनी भने बुधबारसम्म पनि सुक्खा रहने भएको छ । त्यहाँ मङ्गलबार हावाहुरी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार रातिपछि भने तराईका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । 

काठमाडौँ उपत्यकामा भने आइतबार साँझ हल्का वर्षा भयो । सोमबार, मङ्गलबार र बुधबार पनि केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आइतबारदेखि सोमबार साँझसम्मको अवस्था हेर्दा कोशी, बागमती, गण्डकीका केही स्थानमा मध्यम वर्षा रेकर्ड भएको छ । जस अनुसार सबैभन्दा धेरै कास्की छुमरुङमा ३० मिलिमिटर, कास्कीकै ज्यामिरेमा २२ मिलिमिटर, धनकुटामा १७.८ मिलिमिटर र म्याग्दीको तातोपानीमा १३ मिलिमिटरसम्मको मध्यम वर्षा रेकर्ड भएको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । 

अन्यत्र भने फाटफुटदेखि हल्कासम्मको वर्षा रेकर्ड भएको छ । वर्षाको क्रम पश्चिमदेखि पूर्वसम्म पुग्दा करिब पाँच दिन कायम रहने जनाइएको छ ।