• ५ जेठ २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

blog

बिहीबारबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । तस्विर : लक्ष्मण पौडेल

भैरहवा, वैशाख ८ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई महिनाअघि मात्रै सकिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो ७४ वर्षको नागरिक उड्डयनको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा भएको पनि उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । विमानस्थलमा नयाँ धावनमार्ग सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । 

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अब नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिनुभयो । भैरहवामा सन १९५८ जुलाई ४ मा आन्तरिक विमानस्थल सञ्चालनमा आएको थियो । भैरहवामा आन्तरिक विमानस्थल सञ्चालनमा आएको ६४ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलले जनाएको छ ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको अधिकारीहरु बताउँछन् ।

यतीको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबारदेखि विधिवरुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट बिहीबार पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।

बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको भनाइ छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । 

गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।