• ५ जेठ २०८१, शनिबार

बलिउड चलचित्रको घट्दै बोलवाला

blog

काठमाडौँ, वैशाख २३ गते । नेपाली बजारमा हिन्दी चलचित्रको दबदबा दुई/तीन वर्षअघिसम्म ज्यादै थियो । बलिउडमा सार्वजनिक भएको केही दिनमा नेपाली बजारमा ती चलचित्र आइपुग्थे । नेपाली दर्शकमा समेत नेपाली चलचित्रभन्दा हिन्दी र अङ्ग्रेजी चलचित्रको प्रतीक्षा ज्यादा हुने गरेको थियो । 

तराईदेखि पहाडका चलचित्र घरमा हिन्दी चलचित्रकै बोलवाला थियो । नेपाली चलचित्रभन्दा हिन्दी र अङ्ग्रेजी चलचित्रले अर्थ सङ्कलनसमेत राम्रै गर्ने हुनाले हल मालिक पनि नेपालीभन्दा अन्य भाषाकै चलचित्र लगाउन तयार हुन्थे । चलचित्र विकास बोर्डको प्रमुख आयस्रोत नै हिन्दी र अङ्ग्रेजी चलचित्रबाट विकास शुल्कका नाममा प्राप्त हुने रकम हुने गरेको छ । अहिले परिस्थिति फेरिएको छ । यो वर्ष बलिउड चलचित्र प्रदर्शनका लागि नेपाल गलत गन्तव्य साबित भएको छ । यो महिना नेपाली चलचित्र घरमा त्यस्तो कुनै पनि नाम चलेका बलिउड चलचित्र प्रदर्शनमा आएको छैन । 

वैशाख महिना नेपाली चलचित्रका लागि फलदायी रह्यो । हिन्दी चलचित्र खासै प्रदर्शनमा आउन सकेनन् तर विडम्बना यता प्रदर्शन नभए पनि बलिउडका सुपरस्टारको चलचित्र भारतको बक्स अफिसमा पनि खासै चल्न सकेनन् । अक्षय कुमार र टाइगर श्राफ अभिनित चलचित्र ‘बडे मिया छोटे मिया’ नेपालमा त प्रदर्शन नै भएन । भारतमा पनि चलचित्र असफल रह्यो । चर्चामा रहेको अजय देवगन अभिनित चलचित्र ‘मैदान’ नेपालमा प्रदर्शन हुन सकेन । भारतको बक्स अफिसमा पनि यसले खासै आफ्नो प्रभुत्व जमाउन सेकन । बलिउडका ठुला ब्यानरका चलचित्रको प्रदर्शन मिति हेरेर नेपाली निर्माताले आफ्नो चलचित्रको रिलिज डेट लिने गरेका छन् । 

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बलिउड चलचित्र प्रदर्शन नहुनुका कारण अहिले चलेका नेपाली चलचित्र भएको बताउनुभयो । उहाँका अनुसार अहिले नेपाली चलचित्रले नै राम्रो बजार लिइरहेको छ । त्यसैले पनि बलिउडका चलचित्र प्रदर्शनमा नआएका हुन् । बलिउडका पनि सानो बजेट र नाम नचलेका कलाकारको चलचित्र चल्न गाह्रो नै हुने उहाँको ठम्याइ छ । अहिले बलिउडको बजार राम्रो नभइरहेको समय नेपाली चलचित्रलाई नेपाली बजारमा चलाउन र कमाउन सजिलो भएको छ । चलचित्रकर्मी तथा वितरक प्रचण्ड श्रेष्ठ चलचित्र घरमा बलिउडका ठुला चलचित्रसँग राम्रा नेपाली चलचित्र भिड्दा आर्थिक जोखिम हुने भएकाले बलिउड चलचित्र अहिले नल्याइएको दाबी गर्नुहुन्छ । 

उहाँका अनुसार भारतबाट महँगो पैसा तिरेर चलचित्र ल्याउनुभन्दा नेपाली चलचित्रको प्रचार गरेको फाइदा देखियो । त्यसैले पनि बलिउड चलचित्र ल्याउने आँट नगरेको हो । भारतमा आइपिएल र चुनावले गर्दा र नेपालमा राम्रा चलचित्र प्रदर्शन भएकाले चलचित्र झट्ट ल्याइहाल्न वितरक हिचकिचाउने गरेको धारणा उहाँको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको आयुष शर्माको एक्सन थ्रिलर चलचित्र ‘रुसलान’ ले नेपालको बक्स अफिसमा खासै जादु देखाउन सकेन । प्रदर्शन भएको एक सातामा नै चलचित्र सिनेमा घरबाट उत्रिएको छ । यी सबै हुनुका कारण नेपाली चलचित्रको राम्रो व्यापारले गर्दा नै भएको बिग मुभिजका सुपरभाइजर प्रकाश पराजुली बताउनुहुन्छ । उहाँका अनुसार आइपिएलका कारणले पनि बलिउडका चलचित्र प्रदर्शनमा नआएको हो । आइपिएल चलिरहेको समय बलिउडका निर्देशक/निर्माता आफ्नो चलचित्र प्रदर्शन गर्न धेरै हिचकिचाउँछन् । उहाँले भन्नुभयो, “चलचित्र वितरकलाई पनि यस्तो बेला चलचित्र किन्दा महँगो पर्ने भएकाले नयाँ चलचित्र प्रदर्शनमा नआएको हो ।” उहाँका अनुसार, यहाँ चलचित्र वितरकको अनुसार चल्नु पर्छ । उनीहरूलाई मन लागेको समय चलचित्र लिएर आउँछन् नत्र चुप लागेर बस्छन् । यहाँ अर्ब लगानीमा बन्ने बलिउड र हलिउडका चलचित्रसँग एक/डेढ करोडमा बनेका नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न नसक्नेभन्दा पनि नेपाली सिनेमा घरलाई अक्सर बिजनेस दिने र टिकाउने भनेकै हिन्दी सिनेमा नै रहेको चलचित्र निर्माताको भनाइ छ ।