• १२ साउन २०८१, शनिबार

गठबन्धनको चुनावी सभा

पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने

blog

काठमाडौं, वैशाख ८ गते । सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा गठबन्धनले चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बिहीबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीका अनुसार यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय भएको छ ।

सदस्य सचिव जोशीले वैशाख १८ गतेबाट सुरु हुने सभालाई पाँचै दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । साथै गठबन्धनका संयोजक समेत गरी छजना शीर्ष नेताले पनि सभालाई सम्बोधन गर्नुहुनेछ ।

उहाँका अनुसार वैशाख १८ गते धनगढीमा बिहान ११ बजे चुनावी सभा हुने छ भने १८ गते नै दिउँसो २ बजे सुर्खेतमा हुनेछ ।

यसैगरी, १९ गते बिहान ११ बजे बुटवलमा र २ बजे पोखरामा चुनावी सभा हुने कार्यक्रम तय भएको छ ।

त्यस्तै, २० गते विराटनगरमा बिहान ११ बजे, जनकपुरमा दिउँसो १ र २२ गते काठमाडौंमा दिउँसो १ बजे चुनावी सभा हुनेछ ।