• १२ साउन २०८१, शनिबार

सार्वजनिक सुनुवाइमा नागरिकको गुनासो

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख ८ गते । बेनी नगरपालिका –३, भकिम्लिका स्थानीय बासिन्दाले खानेपानी योजना सम्पन्न भइसकेर धारा बने पनि पानी नआएको गुनासो गरेका छन् । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको समीक्षा गर्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भकिम्लिका बासिन्दाले सो गुनासो गरेका हुन् ।

स्थानीय बासिन्दा दीपक पुनले आफ्नो क्षेत्रमा प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७० लाख रुपियाँ लागतमा बनेको खानेपानी योजना सम्पन्न भए पनि पानी नआएको गुनासो गर्नुभयो । पुनले भन्नुभयो “एक घर एक धारा कार्यक्रम भए पनि धारा बन्यो तर पानी आएन ।”

सार्वजनिक सुनुवाइमा सहभागी अधिकांश नागरिकले खानेपानीकै समस्या राख्नुभएको थियो । रामबहादुर किसानले बेनी नगरपालिका –३ को मुसुङ, डोले, छेपारेलगायतका क्षेत्रमा नगरपालिका क्षेत्रबाट योजनामा समेत एकरुपता नगरी उपेक्षा गरेको बताउनुभयो । सार्वजनिक सुनुवाइमा आफ्नो कुरा राख्नेक्रममा किसानले आफ्नो क्षेत्रमा खानेपानी योजना परेर काम अगाडि बढे पनि बीचैमा रोकिएको गुनासो गर्नुभयो ।

भौगोलिक रुपमा असहजर मानिने बेनी नगरपालिका –३ भकिम्लि सदरमुकाम बेनीदेखि नजिकै रहेको वडा हुँदैगर्दा पनि कक्षा ११ पढ्नका लागि गाउँ छाडेर अन्यत्रै जानपर्ने बाध्यता रहेको स्थानीय लिलबहादुर छन्त्यालको भनाइ छ । छन्त्यालले भन्नुभयो– “बेनी नगरपालिकाको ३ बाहेक १ देखि ९ सम्म सबैमा उच्च माध्यमिक अर्थात् कक्षा ११ र १२ पढाइ हुने भए पनि ३ नम्बरमा १० कक्षासम्म मात्रै अध्ययन हुने जयन्ती मावि मात्रै छ ।

स्थानीय दिलबहादुर थापाले आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्याले गर्दा मुसुङ डोले आधारभूत विद्यालयमा पिउने मात्रै नभएर शौचालय प्रयोगका लागि समेत पानीको अभावले गर्दा समस्या भएको बताउनुभयो । नगरपालिकाले सदरमुकामभन्दा अप्ठेरो भूगोलमा पर्ने भकिम्लिमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकहरुले स्वास्थ संस्थाको स्तरोन्नति, कृषि तथा पशुपालक कृषकका लागि उचित प्राविधिक जनशक्तिको व्यवस्था, सडकको स्तरोन्नति गर्न माग गरेका छन् । 

गत चैत २६ गते परेको असिना पानीले गर्दा सुन्तला जातको फलफूलमा निकै ठूलो क्षति भएकोले त्यसका लागि उचित राहत व्यवस्था गर्न आवाज उठाएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले भौगोलिक रुपमा कठिन वडा भएकाले पनि धेरैजसो पूर्वाधार विकासमा कठिनाइ भएको बताउनुभयो । 

बरुवालले ठेकेदारले गरेका काममा गुणस्तरबारेमा स्थानीयले प्रश्न उठाउँदैआएको हुनाले आगामी दिनमा त्यसबारेमा उचित विचार हुने बताउनुभयो । वडामा परेका कतिपय योजना भौगोलिक कठिनाइले गर्दा तोकिएको समयमा पूरा नहुँदा बजेट फिर्ता जाँदा दुःख लागको बरुवालको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रश्नको जवाफ दिँदै आगामी आर्थिक वर्षको कार्यक्रममा समेटेर अगाडि बढ्ने बताउनुभयो । वडालाई आवश्यक पर्ने र विगतमा अड्किएका योजनाबारेमा समयमै उचित जानकारी दिएमा सम्बोधनमा सहज हुने बताउनुभयो ।

बेनी नगरपालिकाकी उपमेयर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा ३ का अध्यक्ष पदम पुनले मन्तव्य राख्नुभयो । अधिकृत युवराज थापाले सञ्चालन गरेको कार्यक्रमका बारेमा प्रकाश सुवेदीले प्रकाश पार्नुभयो । सार्वजनिक सुनुवाइको सवाल जवाफ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले बताउनुभयो ।